साउदीमा एकै दिनमा ३७ लाई मृत्युदण्ड

Posted on: 25 Apr, 2019

काठमाडौं । साउदी अरबले आतकंवादी घटनामा संलग्न भएका भन्दै ३७ जनालाई मृत्युदण्ड दिएको छ । मंगलबार साउदी सरकारी समाचार एजेन्सी ‘साउदी प्रेस एजेन्सी’ यो जानकारी दियो । 

अधिराज्यको गृह मन्त्रालयको जारी गरेको एक विज्ञप्ती अनुसार ३७ मध्ये एक अभियुक्तलाई सुलीमा चढाइयो । सामान्यतया साउदी अरबमा घाँटी काटेर मृत्यु दिने प्रचलन छ । राज्यको कानुनअनुसार अत्यन्त जघन्य अपराध गर्नेहरुलाई मृत्युदण्डपछि सुलीमा चढाइन्छ ।

‘उग्रवादी आतंकवादी विचारधारा अंगिकार गरेका र आतंकवादी समूह निर्माण गरेकोमा कयैन अपराधीलाई मृत्युदण्ड दिइयो । तिनले सुरक्षा व्यवस्था भड्काउने र सम्प्रदायीक विग्रह फैलाउने अभिप्राय देखिन्थ्यो,’ साउदी प्रेस एजेन्सीले गरेको एक ट्वीटमा उल्लेख छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तीमा मृत्युदण्ड दिइएका सबैको नामावली पनि दिइएको छ । मृत्युदण्ड दिइएका अधिकांश साउदी अरबको अल्पसंख्यक सिया समुदायका छन् । सजाय दिइएका ११ व्यक्तिलाई इरानको लागि जासुसी गरेको दोष लगाइएको छ । कम्तिमा पनि १४ व्यक्तिलाई सन् २०११ र २०१२ बीच देशको पूर्वी भागमा भएका सरकार विरोधी प्रदर्शनकारी छन् । 

मंगलबारको सरकारी वक्तव्यमा अबुकरिम अल–हवाजको नाम पनि उल्लेछ । एम्नेष्टी इन्टरनेशनलका अनुसार उनी पक्राउ पर्दा १६ वर्षका नाबालिग थिए । उनलाई सरकार विरोधी प्रदर्शनमा सहभागी भएकोमा दोषी ठहराइएको थियो ।

एम्नेष्टी इन्टरनेशनले विगतदेखि नै साउदी अरबको न्यायिक प्रणाली स्वच्छ नरहेको बताउदैं आएको छ । मंगलबार मृत्युदण्ड दिइएका आरोपीहरुको मुद्धा सुनुवाईमा पनि अन्तराष्ट्रिय सुनुवाईका मापदण्ड प्रयोग नगरिएको उसको आरोप छ । एम्नेष्टिका अनुसार साउदी अरबमा यातनामार्फत लिइएका बयानलाई ठोस प्रमाणको रुपमा प्रयोग गरिन्छ ।

साउदी अरबले भने एम्नेष्टीको आरोपलाई बारम्बार खण्डन गर्दै आएको छ ।

मृत्युदण्ड दिने सवालमा साउदी अरब विश्वमै अग्रस्थानमा आउँछ । सन् २०१६ जनवरीमा उसले ४७ सम्मलाई मृत्युदण्ड दिएको इतिहास छ । एजेन्सीको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!