२४ वटा भूउपग्रह एकैसाथ अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण

Posted on: 25 Jun, 2019

असार १०, वासिङ्टन | संयुक्तराज्य अमेरिकाको एक निजी कम्पनीले एकै साथ २४ वटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफलता हासिल गरेको छ । विश्वकै धनाढ्य एलन मस्कको अगुवाईमा स्थापित स्पेसएक्स कम्पनीको फाल्कन हेभी रकेट मंगलबार सफलतापूर्वक प्रक्षेपण गरिएको थियो ।

 निकै कठिन मानिएको यस अभियान सफल भएको कम्पनीले जनाएको छ ।अमेरिकी समय अनुसार बिहान २.३० बजे फ्लोरिडा राज्यको केनेडी अन्तरिक्ष केन्द्रबाट फाल्कन हेभी प्रक्षेपण गरिएको थियो । फाल्कन हेभीको यो तेस्रो प्रक्षेपण हो ।स्पेसएक्स कम्पनीको इतिहासमै यो निकै चुनौतीपूर्ण प्रक्षेपण हो, र यस अभियानमा करिब छ घण्टा लागेको थियो ।

 स्पेसएक्सका अनुसार गत अप्रिलमा फाल्कन हेभीको परीक्षण उडानमा प्रयोग गरिएको बुस्टरलाई पनि यसपटक पुनः प्रयोग गरिएको थियो । अन्तरिक्षमा उपग्रह स्थापनामा केन्द्रित गरिरहेको स्पेसएक्सले निकट भविष्यमै मानिसलाई अन्तरिक्ष पर्यटनमा लैजाने योजना अघि बढाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!