यमनमा हिंसा जारी, २० जना हुथी विद्रोही मारिए

Posted on: 14 Jul, 2019

असार २९, ऐजेन्सी |  यमनको सरकारी फौजले मुलुकको दक्षिणपूर्वी प्रान्त मारिबमा गरेको आक्रमणमा २० जना हुथी विद्रोही मारिएको जनाएको छ । 

सेनाको विज्ञप्तिमा मारिब प्रान्तको पश्चिमस्थित सेरवाह जिल्लामा हुथी विरुद्ध सेनाले राखेको बारुदी सुरुङमा परेर ती विद्रोही मारिएको उल्लेख छ । बारुदी सुरुङ विस्फोटबाट अरु धेरै विद्रोही घाइते भएका छन् ।

सरकारको नियन्त्रणमा रहेको मारिब प्रान्तको सेरवाहमा केही दिनदेखि सरकारी फौज र हुथी विद्रोहीबीच भिषण संघर्ष जारी छ । यसै महिनाको शुरुमा हुथी विद्रोहीले प्रहार गरेको क्षेप्यास्त्रले गभर्नर भवन पूर्णरुपमा क्षतिग्रस्त भएको थियो ।

साउदी गठबन्धनको सहयोगमा परिचालित यमनी सरकारी फौज गत अप्रिल २०१५ देखि नै मुलुकको उत्तर, पूर्व र पश्चिमी क्षेत्रमा संघर्षरत छ । यमनमा सन् २०१४ देखि नै गृहयुद्ध जारी छ । विद्रोहीहरुले राजधानी साना सहित मुलुकका अधिकांश स्थानलाई आफ्नो नियन्त्रणमा लिएका छन् ।

यमनी गृहयुद्धका कारण १० हजारभन्दा बढीको ज्यान गइसकेको छ भने तीस लाखभन्दा बढी मानिस विस्थापित भएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!