भारतले चन्द्रयान सोमबार प्रक्षेपण गर्ने

Posted on: 18 Jul, 2019

साउन २, नयां दिल्ली  | भारतले आगामी सोमबार चन्द्रयान प्रक्षेपण गर्नेगरी नयाँ मिति घोषणा गरेको छ । गत साता प्रक्षेपणको पूर्वसन्ध्यामा इन्धन चुहिएका कारण अन्तिम समयमा चन्द्रयानको प्रक्षेपण स्थगित गरिएको थियो ।

भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले आगामी सोमबार अपराह्न २ बजेर ४३ मिनेटमा चन्द्रयान–२ को प्रक्षेपण गरिने घोषणा गरेको छ ।भारतले चन्द्रमामा भूउपग्रह अवतरण गराउने महत्वाकाँक्षी अभियान सफल बनाउन केही वर्षदेखि प्रयास गरिरहेको छ । रुस, संयुक्तराज्य अमेरिका र चीनले यस्तो सफलता प्राप्त गरिसकेका छन् ।

भारतले यस परियोजनामा करिब १४ करोड अमेरिकी डलर खर्चिएको छ । अन्तरिक्ष विज्ञानका क्षेत्रमा यो हालसम्मकै सबैभन्दा सस्तो अभियान मानिएको छ । 

संयुक्त राज्य अमेरिकाले यस्तै अभियानका लागि करिब २५ अर्ब डलर अर्थात् आजको मूल्यमा १०० अर्बभन्दा बढी खर्च गरेको थियो । अमेरिकाले सन् १९६० र ७० को दशकमा चन्द्रमाका लागि १५ वटा अपोलो अभियान सञ्चालन गरिएको थियो ।

आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट उक्त यान प्रक्षेपणको तयारी गरिएको इसरोले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!