इमरान खान पाकिस्तानी कस्मिर भ्रमणमा

Posted on: 14 Aug, 2019

साउन २९, एजेन्सी | पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार पाकिस्तानी कस्मिरको भ्रमण गरेका छन्। प्रधानमन्त्री खानले कस्मिर भ्रमण पश्चात नयाँ नीति घोषणा गर्ने सम्भावना रहेको छ। भारत सरकारले भारत प्रशासित जम्मु कस्मिरको विशेष मान्यता खारेज गरेसँगै आणविक शक्तिसम्पन्न दुबै मुलुकबीच तनावको स्थिति छ।

पाकिस्तानले भारतको यस कदमविरूद्ध अन्तर्राष्ट्रिय कूटनीतिक दबाब बढाउने निर्णय गरेको छ। पाकिस्तानले भारतीय कदमका सम्बन्धमा आपतकालीन बैठक डाक्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद समक्ष औपचारिक अनुरोध गरिसकेकोछ।

पाकिस्तानले भारतीय राजदूतलाई फिर्ता गरेको छ भने दुई देशीय व्यापार रोक्नुका साथै सीमा वारपार यातायात सेवा बन्द गरेको छ। विज्ञहरूका अनुसार पाकिस्तानका पछिल्ला निर्णयले भारतमाथि कुनै दबाब सिर्जना हुनेछैन।

यसैसाताको सुरूमा पाकिस्तानी प्रधानमन्त्री खानले भारतको कदमविरूद्ध अन्तर्राष्ट्रिय जगतले खुलेर समर्थन नगरेकामा आपत्ति जनाएका थिए। अगष्ट १९४७ मा बेलायतको शासनसत्ता पतन भएसँगै भारत र पाकिस्तानको उदय भएको थियो।

दुई मुलुकको विभाजनका क्रममा भड्किएको हिंसामा परेर लाखौं मानिस मारिएका थिए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!