इरानी सैनिक कमाण्डर मारिएपछि खाडी क्षेत्रमा थप तनावको आशंका

Posted on: 04 Jan, 2020

मोहिनी मिश्र रिसाल | पुष १९, (रासस/सिन्ह्वा/एएफपी) | इराकको राजधानी बग्दादको अन्तर्राष्ट्रिय विमानस्थलनजिकै शुक्रबार एकजना इरानी सैन्य कमाण्डर मारिएपछि यस विषयले खाडी क्षेत्रमा नै हलचल ल्याइदिएको छ । अमेरिकी सेनाको कारबाहीमा उनी मारिएपछि अमेरिका र इरानबीचको पछिल्लो तनाव झनै चर्किने देखिएको छ ।

शुक्रबार अमेरिकी सेनाको विशेष प्रकृतिको कारबाहीका क्रममा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख कमाण्डर कासिम सुलेमानी मारिएका थिए ।  

यतिमात्र नभएर यसमा इराक पनि थपिएको छ र यसले अमेरिका र खाडी देशहरुका बीचको तनाव थप बढेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले इराकको राजधानी बगदादबाट जनाएका छन् ।

अमेरिकी सेनाले शुक्रबार तिनै कमाण्डरलाई लक्षित गरेर हवाई आक्रमण गरेको थियो । त्यस आक्रमणको घटनामा परी सुलेमानीसहित छ जना व्यक्तिको पनि मृत्यु भएको थियो । 

मारिएका अरु व्यक्तिहरु पनि सुरक्षाकर्मी नै रहेको अनुमान गरिएको छ । तर पनि ती व्यक्तिबारे कुनै प्रष्ट जानकारी भने दिइएको छैन । 

उक्त घटनामा एकजना इराकी विद्रोही नेता पनि मारिएका भनी विभिन्न समाचारहरुमा आएको छ । तर यस विषयमा भने केही बताइएको छैन ।  

मारिएका ती सुलेमानीलाई अमेरिकाले विगतदेखि नै ‘आतङ्ककारी’ समूहको नाइके भएको बताउँदै आएको थियो । यो आक्रमण अमेरिकाको तयारीमा नै भएको बताइएको छ । जुन कुरा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले नै पुष्टि गरेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै उनको हत्याको निर्देशन दिएका बताइएको छ । आक्रमणका लागि उहाँको निर्देशन रहेको अमेरिकाले नै बताएको छ ।      

’अन्तर्राष्ट्रिय सम्बन्धमा सैनिक बलको प्रयोगलाई निरन्तर विरोध गर्दै आएको’ चीनको विदेशमन्त्रालयका प्रवक्ता कङ सुवाङले सञ्चारकर्मीसँगको कुराकानीमा बताउनुभयो ।    

अमेरिकासँग बदला लिने चेतावनी 

 यता इरानका सर्वोच्च्च नेताले अमेरिकी आक्रमणमा आफ्नो सेनाको जनरल मारिएपछि यसको कडा बदला लिने चेतावनी दिनुभएको छ । 

इरानी सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले यस्तो प्रतिक्रिया दिनुभएको हो । शुक्रवार इराकको बग्दादमा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानी मारिएपछि उहाँले अमेरिकाका विरुद्धमा कडा रुपमा बदला लिने बताउनुभएको हो । 

उता इरानले उनी मारिएकोमा देशभरी नै तीन दिन सम्मका लागि राष्ट्रिय शोकको पनि घोषणा गरेको छ । त्यस्तै इरानी रक्षामन्त्री जावेद जारिफले शुक्रबार अमेरिकी सेनाले गराएको यो घटनालाई अन्तर्राष्ट्रिय आतङ्कवाद भनी आरोप लगाउनुभएको बताइएको छ । 

तर अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले भने ती कमाण्डर सुलेमानीलाई अमेरिकी राष्ट्रपतिको आदेशमा गरिएको सुरक्षा कारबाही भनेर पुिष्ट पनि गरेको छ । 

को हुन् कासिम सुलेमानी ?

इरानले स्वदेशमा तथा विशेषगरी विदेशमा राष्ट्रियताको पक्षमा गतिविधि गर्न भन्दै इरान क्विड नामक विशेष दस्ताको स्थापना गरेको थियो । पछिल्लो समयमा उक्त दस्ताको नेतृत्व सुलेमानीको हातमा थियो ।

इरानको सरकारले सन् १९९८ देखि उक्त दस्ताको नेतृत्व सुलेमानीलाई सुम्पेको थियो । तर पनि उनलाई अमेरिकाले भने आतङ्कवादी व्यक्तिको सूचीमा राख्दै आएको छ ।

उक्त दस्ताले इरानका लागि इरानबाहिरका देशहरुमा गोप्य गतिविधिहरू सञ्चालन गर्ने गरेको छ । यसैकारण अमेरिकाले सो सूचीमा राखेको थियो ।

सुलेमानीले सन् १९८० पछि भएको इरान इराक युद्धमा समेत लडेका थिए । उनलाई इरान सरकारको अति निकटका एक व्यक्तिका रुपमा पनि चिनिन्थ्यो ।

सुलेमानीले सिरियामा कायम रहेको बसर अल असदको सत्ताका पक्षमा पनि काम गर्दै आएका थिए । साथै त्यहाँ भएको आइएसका विरुद्धमा पनि विशेष कारबाही गर्ने गर्दथे । 

उनले इरानी सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीसँग नै सम्पर्क राख्न सक्थे र उनको नेतृत्वमा रहेर काम गर्ने गर्दथे । 

शुक्रबार जनरल सुलेमानी आफ्नो कारमा सवार रहेका बेला अमेरिकी सेनाले सोही क्षेत्रमा गरेको हवाई आक्रमणमा परेर मारिएका हुन् ।

इरानले यस कारबाहीलाई एक निकै नै खतरनाक काम भनेको छ भने अमेरिकी सञ्चारमाध्यमहरूले भने उक्त कारबाहीको अमेरिकी पक्षबाट बचाउ गरेका छन् ।

अमेरिकी प्रतिक्रिया 

ती कमाण्डर मारिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खासै कुनै प्रतिक्रिया दिनुभएको छैन । शुक्रबारको सो आक्रमणको घटनापछि उहाँले ट्वीट अकाउन्टमा अमेरिकाको झण्डा राख्नुभएको थियो । तर घटनाका बारेमा केही लेख्नुभएको छैन । 

तर अमेरिकी रक्षा मन्त्रालयले भने शुक्रबार नै विज्ञप्ति प्रकाशन गरेर राष्ट्रपतिको निर्देशनमा अमेरिकी सेनाले गरेको कारबाहीका क्रममा कासिम सुलेमानी मारिएको बताएको छ । 

यसलाई रक्षा मन्त्रालयले विदेशमा रहेका अमेरिकी नागरिकको सुरक्षाका लागि गरिएको कारबाही पनि भनेको छ । 

उक्त विज्ञप्तिमा अमेरिकी रक्षा मन्त्रालयले अमेरिका आफ्ना नागरिक र आफ्ना चासोका विषयमा संसारभर रक्षात्मक रुपमा कामगर्ने र आगामी दिनमा पनि यस्ता कार्यहरु गरिरहने छ भनेको छ । 

संयमता अपनाउन आग्रह    

उता शुक्रबार भएको यस सैन्य कारबाहीपछि उत्तेजक रुपमा व्यवहार नगर्न र संयमता अपनाउन विभिन्न देशले आग्रह गरिरहेका छन् । यस कारबाहीको चीन, रुस र सिरियाले यस हवाई आक्रमणको आलोचना गरेका छन् ।तर यूरोपेली संघले भने थप हिंसा भड्किन नदिन सबै पक्षलाई संवेदनशिल भएर संयमता अपनाउन आग्रह गरेको छ । 

शुक्रबार अमेरिकाले इरानी विशेष सुरक्षा फौज कुद्सका प्रमुख जनरल कासिम सुलेमानीको मृत्यु हुनेगरी शुक्रबार इराकमा गरेको आक्रमणलाई रूसले ‘गैरजिम्मेवारपूर्ण कदम’ भनेको छ । 

यसले मध्यपूर्वमा तनाव बढाएको रुसले जनाएको छ । रुसले इरानी ती कमाण्डरको मृत्युलाई लिएर इरानी जनताप्रति सहानुभूति पनि व्यक्त गरेको छ ।     

बग्दादमा अमेरिकी आक्रमणबाट भएको सुलेमानीको मृत्युले मध्यपूर्वमा अहिले पनि जारी रहेको तनावलाई थप बढाउने रुसले आशङ्का गरेको छ । 

उता यूरोपेली परिषद्का प्रमुख चाल्र्स मिसेलले इराकमा अमेरिकाले इरानी जनरलको मृत्यु हुने गरी गरेको आक्रमणपछि थप द्वन्द्व चर्किने भन्दै शान्त रहन आग्रह गर्नुभएको छ ।      

उहाँले इराकमा विगत केही हप्तादेखि भएका हिंसात्मक तथा उत्तेजनात्मक गतिविधिहरुलाई रोक्न र अबका दिनमा कुनै द्वन्द्वका घटना हुन नदिन आग्रह गर्नुभएको छ ।      

त्यस्तै फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँले सुलेमानीको मृत्युपछि हुनसक्ने सम्भावित हिंसा र राजनीतिक तनावलाई रोक्न सबैले पहल गर्नुपर्ने बताउनुभएको छ ।     

राष्ट्रसंघ भन्छ– अर्को खाडी युद्धको त्रास हटोस् 

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार संयुक्त राष्ट्रसंघले इराकको राजधानी बग्दादमा भएको शुक्रबारको घटनाले खाडी क्षेत्रमा अर्को युद्धको अवस्था नल्याओस भनेको छ ।      

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले अमेरिकाले इराकको सो घटनाले खाडी क्षेत्रमा थप हिंसा भड्किनसक्ने भन्दै विश्वले फेरि अर्को खाडी युद्ध सहन सक्दैन भन्नुभएको छ ।     

महासचिव गुटर्रेसले निरन्तर रुपमा खाडीमा भइरहेको तनावलाई कम गर्न संयुक्त राष्ट्रसंघले पनि निरन्तर पैरवी गरिरहेको बताउनुभएको छ । 

महासचिव गुटेर्रेसका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ “यो अवस्थामा विश्वका नेताहरूले हिंसालाई रोक्न अत्यधिक प्रयास गर्नुपर्ने छ, विश्वले खाडी क्षेत्रमा फेरि अर्को युद्धको भार थेग्न सक्दैन ।” 

यस बिषयमा तपाइको प्रतिक्रिया...!