कोरोना भाइरसका कारण हङकङमा पनि एक जनाको ज्यान गयो

Posted on: 04 Feb, 2020

माघ २१, एजेन्सी | चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण  हङकङमा पनि एकजनाको मृत्यु भएको छ |  मङ्गलबार बिहान चीनको वुहानबाट हङकङ पुगेका ३९ वर्षीय पुरुषको मृत्यु भएको चिनिया संचारमाध्यमहरुले जनाएको छ |

योसँगै चीन बाहिर कोरोना सङ्क्रमितको ज्यान गएको यो दोस्रो घटना हो | यसअघि गएको आइतबार फिलिपिन्समा पनि एक चिनियाँ पुरुषको ज्यान गएको थियो | हालसम्म  चीनमामात्र कोरोना सङ्क्रमित चार सय २५ जनाको ज्यान गैसकेको छ भने २० हजार चार सय ३८ जनामा देखापरेको छ |

तीव्ररुपमा फैलिरहेको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या लगातार बढिरहेको छ |  यसका साथै विश्वका दुई दर्जन भन्दा बढी मुलुकमा यसको संक्रमण देखा परिसकेको छ |  हङकङमा फेरि १५ जना, मकाओमा आठ जना र ताइवानमा १० जनामा सङ्क्रमण देखिएको  हो |

चीनमा अहिलेसम्म कम्तीमा चार सय २५ जनाको ज्यान गैसकेको चिनियाँ अधिकारीहरुले जनाएका छन् | त्यस्तै ६ सय ३२ जना उपचारपछि ‘डिस्चार्ज’ भएका छन् | विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ |  

यस बिषयमा तपाइको प्रतिक्रिया...!