हुबेई प्रान्तबाहिर नयाँ कोरोनाभाइरस संक्रमितको सङ्ख्या लगातार १३ औँ दिन घट्यो

Posted on: 17 Feb, 2020

फागुन ५, एजेन्सी | कोरोनाभाइरस संक्रमणको केन्द्रविन्दु मानिएको चीनको हुबई प्रान्तबाहिर यसबाट संक्रमित हुनेको सङ्ख्यामा लगातार तेह्रौँ दिन कमी आएको चिनियाँ स्वास्थ्य आयोगले जानकारी दिएको छ ।

आइतबार चीनको हुबेई प्रान्तबाहिर ११५ जना नयाँ संक्रमित फेला परेका थिए । गत फेब्रुअरी ३ यता यो सङ्ख्यामा निरन्तर कमी आइरहेको आयोगले जारी गरेको तथ्याङ्कमा देखिएको छ । फेब्रुअरी ३ मा हुबेई बाहिर ८ सय ९० नयाँ संक्रिमत फेला परेका थिए । त्यस यता भने उक्त सङ्ख्यामा निरन्तर कमी आइरहेको छ ।

आयोगले सोमबारसम्म कोरोनाभाइरस (कोभीड–१९) को संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १७ सय ७० पुगेको पनि जनाएको छ । अघिल्लो दिनभन्दा यो सङ्ख्या १ सय ५ ले बढी हो । हुबेईमा मात्र १ सय जनाले ज्यान गुमाएका छन् ।

देशभर यस रोगबाट संक्रमित २ हजार ४८ नयाँ बिरामी फेला परेको आयोगको तथ्याङ्क छ जसमा १९ सय ३३ जना हुबेई प्रान्तका रहेका छन् । योसँगै यस रोगबाट संक्रमित हुनेको सङ्ख्या ७० हजार ५४८ पुगेको छ । 

चीनबाहिर हालसम्म फिलिपिन्स, जापान, हङकङ र फ्रान्समा एक–एक जनाले ज्यान गुमाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!