महाथिरले दिए मलेसियाको प्रधानमन्त्री पदबाट राजीनामा

Posted on: 24 Feb, 2020

फागुन १२, एजेन्सी | सोमबार मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले  राजीनामाको घोषणा गरेका छन् | स्थानीय समय अनुसार दिँउसो १ बजे  एक वक्तव्य जारी गर्दै राजालाई आफ्नो राजीनामाबारे जानकारी दिएका हुन् |

उनले राजीनामाको घोषणा गरेसँगै नयाँ सरकार गठनको प्रक्रिया खुलेको छ | महाथिरको पार्टी ‘पार्टी प्रिभूमी बेरसातु मलेसिया’ले सत्तारुढ गठबन्धन पाकातान हारापान ‘एलाइन्स फर होप’ पनि छाडेको पार्टीका सभापति मुहिद्दिन यासिनले जानकारी दिएका छन् |

एक हप्ता लामो राजनीतिक खिचातानीपछि आइतबार राति महाथिरको पार्टीले उनको उत्तराधिकारीको रुपमा हेरिएका अनवर इब्राहिम बिना नयाँ सरकार बनाउने तयारी गरिरहेको बताइएको थियो | ९४ वर्षीय महाथिर र ७२ वर्षीय अनवरबीच लामो समयदेखि राजनीतिक द्वन्द्व चलिरहेको थियो |

अनवर सन् १९८१ देखि २००३ सम्म महाथिर प्रधानमन्त्री हुँदा उप–प्रधानमन्त्री थिए | सन् १९९८ मा महाथिरले उनलाई बर्खास्त गरेका थिए । लगत्तै अनवरलाई अनैतिक यौनगतिविधि गरेको आरोपमा पक्राउ गरेर जेल चलान गरिएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!