कोरोनाभाइरस प्रकोपका समय जन्मिएका जुम्ल्याहाको नाम ‘कोरोना’ र ‘कोभिड’

Posted on: 04 Apr, 2020

चैत २१, रायपुर (रासस/पीटीआई) | भारतको छत्तीसगढस्थित रायपुर शहरमा जन्मिएका नवजात जुम्ल्याहामध्ये नावालकको नाम ‘कोरोना’ र नावालिकाको नाम ‘कोभिड’ राखिएको छ । 

यी दुई शब्दले अरूको दिमागमा डर वा भय उत्पन्न गर्न सक्छ तर रायपुरका दम्पतीका लागि कठिनाइमाथि विजयको प्रतीक रहने छ । कोरोभाइरस सङ्क्रमणका कारण लागू भएको राष्ट्रव्यापी तालाबन्दीमा जन्मेका उनीहरू अस्पतालबाट घर फर्किसकेका छन् । 

उनीहरूका अभिभावक प्रीति वर्मा (आमा) र शुभ्र सिंह (बावु) ले विश्वले भोगिरहेको अप्ठ्यारो समयमा जन्मिएका हुनाले त्यसलाई सम्झिरहन आफ्ना जुम्ल्याहा सन्तानको नाम त्यसरी राखेको बताएका छन् । जुम्ल्याहाकी आमाले कोरोनाभाइरस सङ्क्रमणको समयमा अस्पतालमा भर्ना भएपछि सङ्क्रमणको भयका कारण बच्चा जन्माउँदा र त्यसपछिका केही दिन निकै कठिनाइ भएको बताउनुभयो । उहाँले अस्पतालको कुशल व्यवस्थापनका कारण आफूहरू सुरक्षित घर फर्किएकोमा उहाँले रायपुरस्थित डा. बीआर अम्बेडकर मेमोरियल अस्पताल र आफ्नो सेवामा सम्लग्न स्वास्थ्यकर्मीको टोलीलाई धन्यवाद दिनुभयो । 

“हामीले धेरै चुनौती खेप्यौँ, म र मेरा श्रीमान् यो दिनलाई विशेष बनाउन चाहन्थ्यौँ ।” चैत १३ (मार्च २६)का दिन आफूलाई प्रसव व्यथा लागेको कोभिड र कोरोनाकी आमाले सञ्चारकर्मीसँगको कुराकानीमा बताउनुभयो । एक दिनपछि अर्थात् १४ (मार्च २६) गते जुम्ल्याहा जन्मिएका थिए । 

वर्माले भन्नुभयो, “लकडाउनका कारण सडकमा कुनै सवारी चलाउन अनुमति नहुने हुँदा हामीलाई प्रहरीले विभिन्न स्थानमा रोकेको थियो तर उनीहरू (सुरक्षकर्मी) ले मेरो अवस्था देखेपछि अवरोध गरेनन् । अस्पताल जान पाइयो । 

मध्यरात भएको कारण अस्पतालमा के हुने होला भनेर म सोचिरहेको थिएँ तर सौभाग्यवश चिकित्सकहरू र अन्य स्टाफहरू निकै सहयोग गर्नुभयो । हामी आज खुशी छौँ ।” 

“यो भाइरस खतरनाक छ, तर यसकै कारण मानिसहरूले स्वास्थ्य र राम्रो आनीबानीमा ध्यान दिन जोड दिइरहेका छन् । त्यही भएर हामीले यी नाम छानेका हौँ ।” 

अस्पतालका कर्मचारीलेहरूले ती जुम्ल्याहा जन्मिएलगत्तै कोरोना र कोभिड भनेर बोलाउन थालिएको र त्यसले उनीहरूका अभिभावकलाई उक्त निर्णय लिन सजिलो भएको जनाएका छन् । ती दम्पतीको स्थायी घर उत्तर प्रदेशमा रहेको भएपनि पछिल्ला केही वर्षदेखि छत्तिसगढ राज्यको राजधानीको पुरानो बस्ती क्षेत्रमा भाडाको घरमा बस्दै आएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!