भारतमा कोभिड १९ का संक्रमितको संख्या छ हजार नाघ्यो

Posted on: 10 Apr, 2020

चैत २८, काठमाडौँ (रासस-एएनआई) | भारतमा बिहीबार पनि कारोना भाइरसका नयाँ संक्रमितहरु थपिएका छन् । गएको १२ घन्टायता यहाँ ५४७ जना नयाँ संक्रमित थपिएका छन् ।

शुक्रबार विहानको तथ्यांकअनुसार भारतमा कोभिड १९ का संक्रमितहरुको संख्या ६ हजार नाघेको छ । प्राप्त समाचारअनुसार यहाँ शुक्रबार बिहानसम्म ६ हजार ४१२ जनामा यसको संक्रमण भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकरी दिएको छ ।

पछिल्ला केही दिनमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा शुरुदेखि नै सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । शुक्रबार पनि यो क्रम जारी नै छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकरी दिएको जानकारीअनुसार यहाँ गएको १२ घन्टामा मृत्यु हुनेको संख्या पनि अहिलेसम्मकै सबैभन्दा धेरै पाइएको छ ।

गएको १२ घन्टामा यहाँ ३० जनाको ज्यान गएको सो मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १९९ पुगेको भारतका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

महाराष्ट्रमा कोभिड १९ का संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या १ हजार ३६४ जना पुगेको शुक्रबार विहान प्राप्त समाचारमा जनाइएको छ ।

यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ । ती मध्येका धेरै संक्रमितहर बृहनमुम्बई म्युनिसिपल कर्पाेरेसन क्षेत्रका भएका पाइएको यहाँको स्थानीय सरकारी अस्पतालका एक प्रवक्ताले जनाएका छन् ।     

यसरी भारतमा केही दिनयता बढ्दो रुपमा यसका संक्रमितहरु देखिएका पनि बताइएको छ । यहाँका ५०४ जना संक्रमित भने उपचार पछि निको भएर घर फर्र्किएका छन् । मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार यहाँ ५ हजार ७०९ जना कोरोनाका संक्रमित विरामी अस्पतालमा छन् ।

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९९ जना पुगेको पुष्टि भारतको स्वास्थ्य मन्त्रालयले गरेको छ ।

महाराष्ट्रपछि सबैभन्दा बढी विरामी तालिनाडूमा छन् । तामिलनाडूमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या शुक्रबार बिहानसम्म ८३४ पुगेको छ ।

त्यसपछिका बढी संक्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा यसका संक्रमितको संख्या ७२० रहेको छ । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!