दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन आगामी असोजमा हुने

Posted on: 03 Aug, 2020

साउन १९, काठमाडौं । विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउने उद्देश्यका साथ दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन आगामी असोजमा हुने भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र नेपाल सरकारको सहकार्यमा आगामी असोज २३ देखि २५ गतेसम्म हुन लागेको सो सम्मेलनमा चार ‘प्लेनरी सेसन’ र १५ ‘सिम्पोसियम सेसन’को सञ्चालन हुनेछ । सम्मेलनमा गैरआवासीय नेपाली विज्ञ, नेपालमा भएका विज्ञ र नेपालसँग जोडिएका विदेशी विज्ञका २०० बढी कार्यपत्र प्रस्तुत हुनेछन् । सम्मेलनको निष्कर्षको श्वेतपत्र सरकारलाई बुझाइने सङ्घले जनाएको छ । 

सङ्घले आफ्नो स्थापनाकालदेखि नै  विदेशमा रहेका नेपालीले आर्जन गरेको ज्ञान सीप प्रविधि एवं पूँजीलाई नेपालको दिगो विकासमा प्रयोग गर्ने सम्बन्धमा समय सापेक्ष नीतिगत पहलका लागि प्रयास गर्दै आएको छ ।  सम्मेलन कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात् विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिमाथि केन्द्रित हुने सम्मेलनका संयोजक डा हेमराज शर्माले जानकारी दिनुभयो । सम्मेलनमा  संयुक्त राष्ट्रसङ्घको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजनाका विषयमा विज्ञले सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । यस्तै विभिन्न विषयमा दुई दर्जन बढी अवधारणापत्र प्रस्तुत हुनेछन् । 

सम्मेलन कसरी र कहाँ गर्ने भन्नेबारे कोरोना भाइरसको सङ्क्रमणको अवस्थाले निर्धारण गर्ने सङ्घले जनाएको छ  । कोरोना भाइरसको प्रभाव सामान्य हुँदै गए काठमाडौँ विश्वविद्यालयमा सम्मेलन आयोजना गर्ने तयारी गरिएको संयोजक शर्माले जानकारी दिनुभयो ।  कोरोना भाइरसको प्रभाव रहिरहेमा सो सम्मेलनलाई अनलाइन सम्मेलनको रुपमा परिणत गर्ने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!