लकडाउन खुकुलो भएरपनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भारतमा धेरै : मोदी

Posted on: 20 Oct, 2020

कात्तिक ४, नयाँ दिल्ली (रासस/एएनआई)। लचिलो लकडाउन भएर पनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएको मुलुकमा भारत अग्रस्थानमा रहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनु भएको छ । 

उहाँले भारतमा औसतमा ८८ प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएको सोमबार जानकारी दिनुभयो । लकडाउन लचिलो भएर पनि सङ्क्रमणमुक्त हुनेहरुको यो सङ्ख्या विश्वमै एक मात्र र पहिलो देश भारत भएको उहाँको दावी छ ।  

ग्रान्ड च्यालेन्ज एनुयल मिटिङलाई भिडियोमार्फत् सम्वोधन गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, “भारतको आकार, विविधता र मात्रा देखेर विश्व सँधै लोभिएको छ ।” “हाम्रो जनसङ्ख्या अमेरिकाको भन्दा झण्डै झण्डै चार गुणा बढी छ, हाम्रा धेरै राज्यहरु युरोप र एसियाका देशभन्दा बढी प्रदुषित छन्, तर पनि हाम्रोमा कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या अत्यन्त कम छ,” उहाँले थप्नुभयो ।

प्रधानमन्त्री मोदीले भारतमा सङ्क्रमितहरुको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको र सङ्क्रमणमुक्त भएकाहरुका सङ्ख्या पनि उच्च रहेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “यति धेरै जनसङ्ख्या भएको मुलुकमा लकडाउन लचिलो बनाउँदा समेत सङ्क्रमित भएकाहरुको सङ्ख्या निकै कम रहेको छ । यस्तो अवस्था विश्वको सायद कुनै पनि देशमा छैन ।”

मास्कको प्रयोगका लागि प्रेरित गर्ने मुलुकमा पनि भारत सवैभन्दा अगाडि रहेको प्रधानमन्त्री मोदीले दावी गर्नुभयो ।   “हामीले काम रोकेका छैनौ, खोपका लागि पनि प्रयास भइरहेको छ, अरु पनि धेरै उपायहरु हामीले अवलम्बन गरेका छौँ,” उहाँले भन्नुभयो । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!