भारत र अमेरिकाबीच ‘बेका’ सम्झौता: मिसाइल, ड्रोनलगायतका आक्रमणमा सहज हुने

Posted on: 28 Oct, 2020

कात्तिक १२, काठमाडौँ | भारत र अमेरिकाबीच रक्षा सम्बन्धी सूचना आदान-प्रदान गर्ने गरी ‘बेका’ नामक रक्षा सम्झौता भएको छ। आधारभूत आदानप्रदान तथा सहायता सम्झौता (बेका) नामक यो द्विपक्षीय सहमतिपछि दुई देशले महत्वपूर्ण सैन्य प्रविधि, भूरणनीतिक नक्साहरु र भूउपग्रहसम्बन्धी गोप्य तथ्याङ्कहरु आदानप्रदान गर्नेछन् ।

सम्झौता अनुसार भारतले अमेरिकाले जम्मा पारेका सूचनामा पहुँच पाउनेछ । यसले मिसाइल, ड्रोनलगायतका आक्रमणमा सहज हुनेछ ।

इण्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो आर्थिक तथा सैन्य प्रभावलाई निस्तेज पार्ने प्रतिबद्धताका साथ यो सम्झौता गरिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

अमेरिकी विदेशमन्त्री माइक पोम्पिओ र रक्षामन्त्री मार्क एस्पर र उनीहरुका भारतीय समकक्षी एस जयशंकर र राजनाथ सिंहले मंगलबार दिल्लीमा उक्त सम्झौता गरेका हुन्।

इण्डो–प्यासिफिक क्षेत्रमा चीनको आर्थिक तथा सैन्य प्रभाव बढिरहेको र पूर्वी लद्दाखमा भारत र चीनबीच तनाब बढिरहेका बेला अमेरिकासँग भएको यो रक्षा सम्झौता महत्वपूर्ण ठानिएको छ ।

सम्झौतापछि भारतीय रक्षामन्त्री राजनाथ सिंहले आफूहरु इण्डो–प्यासिफिक क्षेत्रमा शान्ति र सुरक्षा कायम गर्न प्रतिबद्ध रहेको बताएका छन्।

अमेरिकी विदेशमन्त्री पोम्पिओले भारतका जनता सार्वभौमसत्ता र स्वतन्त्रताका पक्षमा लड्दा अमेरिका भारतीय जनताका पक्षमा उभिने बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!