अमेरिकामा केहिदिन भित्रै कोरोना खोप उपलब्ध हुने

Posted on: 23 Nov, 2020

मंसिर ८, काठमाडौँ | विश्वभरी फैलिएको कोरोनाभाइरसको खोप अब अमेरिकामा केहिदिनमै उपलब्ध हुनसक्ने बताइएको छ | सीएनएनसँगको कुराकानीमा डाक्टर मोनसेफ सलोईले स्विकृति पाएको २४ घण्टाभित्र यसलाई खोप केन्द्रसम्म पुर्याउने योजना गरिएको  बताएका हुन् |

जोन होपकिन्स युनिभर्सिटीका अनुसार,अमेरिकामा एक करोड २० लाख कोरोना संक्रमित छन् र २ लाख ५५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ | अहिले विश्वको सबैभन्दा बढी कोरोना प्रभावित देशमध्ये अमेरिका पहिलो नम्बरमा छ | औषधी कम्पनी फाइजर र यसको सहयोगी बायोएनटेकले शुक्रबार कोभिड–१९ को आफ्नो भ्याक्सिनको अमेरिकामा आपतकालीन स्विकृतिका लागि एक निवेदन दिएका थिए |

सन् २०२० मा उसले ५ करोड डोज र सन् २०२१ मा १.३ अर्ब डोज उत्पादन गर्ने फाइजरको विश्वास छ | 

भ्याक्सिन अधिकृत गर्नका लागि खाद्य एवं औषधि प्रशासन (एफडीए) को भ्याक्सिन सल्लाहकार समितिले १० डिसेम्बरमा बैठकको आयोजना गर्ने भएको छ | भ्याक्सिन सबैभन्दा पहिले कसलाई दिइने भनेर निश्चित गर्नेछ । फ्रन्ट लाइन वर्कर्स र ज्येष्ठ नागरिकलाई भ्याक्सिन सबैभन्दा पहिले दिइने अनुमान गरिएको छ |

डाक्टर सलाईले अर्को वर्षको मे महिनासम्म ७० प्रतिशत मानिसहरुलाई यो भ्याक्सिन प्रदान गरिने जसमार्फत हर्ड इम्युनिटी हासिल गर्न सकिने बताएका छन् | अमेरिकी अधिकारीले यसअघि रिजेनेरोनमा विकसित गरिएको एन्टीबडीलाई आपतकालीन स्विकृति दिएका थिए जुन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पनि दिइएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!