२,००० वर्ष पहिले ज्वालामुखीका कारण ज्यान गुमाएका दुई मानिसको अवशेष फेला

Posted on: 23 Nov, 2020

मंसिर ८, काठमाडौँ | प्राचीन रोमन नगर पोम्पेईमा झन्डै २,००० वर्ष पहिले विस्फोटन भएको ज्वालामुखीका कारण ज्यान गुमाएका दुई मानिसको अवशेष फेला  परेको छ | पुरातत्त्वविद्हरूले उक्त अवशेष फेला पारेका हुन् |

तीमध्ये एकजना सम्भवत: धनाढ्य व्यक्ति र अर्का उनका सेवक रहेको पोम्पेई पुरातात्त्विक पार्कका अधिकारीहरूले जनाएका छन् | पार्कका निर्देशक मास्सिमो ओसान्नाले उनीहरू ज्वालामुखीबाट जोगिने उपाय खोज्दाखोज्दै प्रकोपमा परेको हुनसक्ने बताए |

पोम्पेईमा सन् ७९ मा भेसुभिअस पर्वतबाट विस्फोटन भएको ज्वालामुखीका कारण प्रभावित भएको थियो | उक्त ज्वालामुखीका कारण पोम्पेई खरानीले पुरियो अनि पूरै नगर र नगरवासीलाई जमाइदियो | अहिले उक्त स्थान पुरातात्त्विक अध्ययनका लागि उपयुक्त मानिएको छ |

पोम्पेई नगरको बाहिरी भागको एउटा ठूलो स्थानमा यो महिना गरिएको उत्खननका क्रममा पछिल्लो अन्वेषण भएको हो | अहिले अवशेष भेटिएकामध्ये धनाढ्य ठानिएका व्यक्तिको उमेर ३० देखि ४० वर्ष भएको अनुमान गरिएको छ | उनको गर्धन तल न्यानो खालको कपडाको निसान भेटिएको छ |

अर्का व्यक्तिको उमेर १८ देखि २३ वर्षको रहेको बताइएको छ | ती व्यक्तिको पिठिउँको करङले उनी सेवक भएको सङ्केत दिएको पुरातात्त्विक अधिकारीहरूको भनाइ छ | ज्वालामुखीबाट निस्किएको भस्म शरीरमा जम्दा बनेको सङ्केतका आधारमा ती दुईको शरीरको आकृति बनाइएको थियो | बिबिसी

यस बिषयमा तपाइको प्रतिक्रिया...!