मलेसिया द्वारा पाकिस्तानी विमान कब्जा

Posted on: 15 Jan, 2021

माघ २, काठमाडौँ | मलेसियाले पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को एउटा ‘बोइङ्ग–७७७’ विमानलाई कब्जा गरेको छ | मलेसियाको अदालतको आदेशअनुसार क्वालालम्पुर विमानस्थलमा उक्त विमान  कब्जामा लिइएको अधिकारीहरुले बताएका छन् | 

पीआईएले विमान भाडामा लिएबापतको रकम नबुझाएका कारण यस्तो कारवाही गरिएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् | पीआईएले सन् २०१५ मा भियतनामको एउटा कम्पनीसँग बोइङ्ग–७७७ विमान भाडामा लिएको थियो |

पाकिस्तानी सहर कराँचीबाट मलेसियाको क्वालालम्पुर पुगेको उक्त विमानलाई मलेसिया प्रशासनले कब्जामा लिएको जनाइएको छ | विमान क्वालालम्पुरबाट पाकिस्तानतर्फ फर्कनका लागि तयारी अवस्थामा रहेपनि  मलेसिया प्रशासनले उक्त विमानलाई उडान अनुमति नदिएको हो |

विमानलाई क्वालालम्पुर विमानस्थलमै रोकिएपछि विमानका चालक दलका १८ सदस्य पनि मलेसियामै बसेका छन् | कोरोना मापदण्ड अनुसार ति सदस्यहरुले पनि क्वारेन्टाइनमा बस्नुपर्ने बताइएको छ | पीआईएले मलेसियाको अदालतले एकतर्फी निर्णय सुनाएको आधारमा यो कारवाही गरिएको बताएको छ |

पीआईएले पाकिस्तान सरकारलाई यसबारे जानकारी गराइएको र कुटनीतिक स्तरमा कुरा उठाउन भनिएको बताएको छ |एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!