अफगान संकट समाधान गर्ने जी २० का नेताहरुको प्रतिबद्धता

Posted on: 13 Oct, 2021

असोज २७, न्युयोर्क | एजेन्सी | विश्वका ठूलो अर्थतन्त्र भएका देशहरुको समूह जी २० का नेताहरूले अफगानिस्तानको उथलपुथलबारे चासो देखाउदै त्यहाँको आर्थिक तथा मानवीय संकट समाधानका लागि प्रतिबद्धता जनाएका छन् । 

राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसको आव्हानमा  आयोजना भएको भर्चुअल वैठकमा जी२० का नेताहरूले प्रतिबद्धता जनाएका हुन् । 

वैठकमा अमेरिकी राष्ट्रपति जो बाइडेनले अन्तर्राष्ट्रिय समुदायले सोझै अफगान नागरिकलाई सहयोग गर्नुपर्ने धारणा राखेका थिए । सहायता कार्यक्रममा तालिवानको आवश्यक नपर्ने उनको भनाई थियो । 

तर, इटालीका प्रधानमन्त्री मारिओ ड्रगीले तालिवानको संलग्नताबिना अफगान नागरिकहरूलाई सहयोग गर्न कठिन हुने बताए ।

त्यस्तै, जर्मन चान्सलर एन्जिला मर्केलले अफगान संकट लामो समयसम्म लम्बिन नहुने बताउँदै समस्या समाधानका लागि जी देशका नेताहरुले ठोस कदम चाल्नुपर्ने बताएकी थिइन् । 

चाँडै नै जर्मन राजीतिबाट बिदा लिदै गरेकी मर्केलले जर्मनीले ६० करोड युरो उपलब्ध गराउने यसअघिको प्रतिबद्धतालाई पुनः दोहोराएकी थिइन् ।

अफगानिस्तानको सिंगो अर्थतन्त्र नै कोल्याप्स भएको उनको भनाई थियो । बैठकले तालिवानलाई अतिवादी संजालसँगको सम्बन्ध तोड्न समेत आग्रह गरेको छ । 

सो अवसरमा  भारतीय प्रधनमन्त्री नरेन्द्र मोदीले अफगानिस्तानलाई अतिवादीको स्रोत हुनबाट रोक्नुपर्ने धारणा राखेका थिए । 

यसअघि, युरोपेली आयोगकी प्रमुख उर्जुला एफडी लयनले अफगानिस्तानलाई एक अर्ब युरो उपलब्ध गराउने प्रतिबद्धता जनाएकी थिइन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!