विश्वमा आजः दक्षिण कोरियाली राष्ट्रपतिको हत्यादेखि लंगुरको मुटु बालिकामा प्रत्यारोपण

Posted on: 26 Oct, 2021

कात्तिक ९, काठमाडौँ | आज अक्टोबर २६ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण घटनाः

अतिवादीबिरुद्ध लड्ने अमेरिकी कानून

सन् २००१ को ११ सेप्टेम्बरको अतिवादी हमलापछि  सोही महिना अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले ‘प्याट्रिअट एक्ट’ नामक एक कानुन घोषणा गरेका थिए । सो कानुनअन्तर्गत सुरक्षा निकायलाई अतिवादीबिरुद्ध लड्न अमेरिकामा थप अधिकार दिइएको थियो ।

दक्षिण कोरियाली राष्ट्रपतिको हत्या

सन् १९७९ मा दक्षिण कोरियाली राष्ट्रपति पार्क चुङ हिको हत्या भएको थियो । हिलाई उनकै लामो समयदेखिका साथी तथा कोरियाली केन्द्रीय गुप्तचर निकायका प्रमुख किम जाय क्वयुले हत्या गरेका थिए । उनलाई आजिवन काराबासको सजायँ तोकिएको थियो । 

लंगुरको मुटु बालिकामा प्रत्यारोपण

सन् १९८४ मा अमेरिकाकी बालिका बेबी फेईमा लंगुरको मुटु प्रत्यारोप भएको थियो । १४ अक्टोबरमा जन्मिएकी ती बालिका मुटुसँग सम्बन्धित समस्याबाट पीडित थिइन् । शल्यक्रिया सफल भए पनि बालिकाको शरिरले प्रत्यारोपण गरेको मुटु अस्वीकार गरेपछि  प्रत्यारोपणको केही सातापछि उनको मृत्यु भएको थियो । 

जम्मु र कश्मिरलाई अधिनमा लिने सम्झौता

सन् १९४७ मा जम्मु तथा काश्मिरका अन्तिम महाराजा हरि सिंह र भारतीय सरकारबीच एउटा महत्वपूर्ण सम्झौता भएको थियो । ‘इन्स्ट्रुमेन्ट अफ एक्सेसन’ नाम दिइएको सो सम्झौतामा काश्मिर भारतको अधिनमा रहने र त्यसको सट्टा भारतीय सेनाले हरि सिंहको रक्षा गर्ने उल्लेख थियो । 

फुटबल संघ गठन

सन् १८६३ मा विश्वकै पुरानो फुटबल निकाय लन्डनमा स्थापना गरिएको थियो । यसको स्थपानासँगै फुटबलबारे नयाँ नियम बनाउन सुरु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!