आर्थिक समृद्धिबाट मात्रै राष्ट्रको विकास सम्भव: उपराष्ट्रपति पुन

Posted on: 09 Feb, 2018

माघ २६, धुलिखेल | उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक समृद्धिबाट मात्रै देशको विकास सम्भव हुने बताउनुभएको छ । 

आज काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ खार्पाचोकस्थित खार्पाचोक युवा क्लबले आयोजना गरेको २८५४औँ खि ल्हो सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा सबै तहका नेतृत्व र आमजनसमुदाय त्यसतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “अबको प्रतिष्पर्धा आर्थिक समृद्धिका लागि हुनुपर्छ, सबै तहले त्यसमा ध्यान दिनुहुनेछ ।” आफ्नो समुदाय र देशको समृद्धिका लागि भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले पछिल्लो अवस्थामा राज्यको प्रशासनिक क्षेत्रमा आदिवासी जनजाति, अल्पसंख्यक र पिछडिएका क्षेत्रका समुदायको सहभागिता बढ्दै जानु सराहनीय भएको बताउनुभयो । 

कार्यक्रममा प्रतिनिधिसभाका सांसद गंगाबहादुर तामाङले प्रदेश नं ३ को राजधानी काभ्रे हुने र त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेको बताउनुभयो । 

प्रदेशसभा सांसद रत्न ढकालले तामाङको बाक्लो उपस्थिति रहेको क्षेत्रलाई विकास गर्न आफूले सक्दो पहल गर्ने बताउनुभयो । 

पूर्व सांसद तीर्थ लामा, नेकपा (माओवादी केन्द्र)का जिल्ला इञ्चार्ज सूर्यमान दोङ, रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामालगायतले आफ्नो धारणा राख्नुभएको थियो । सो अवसरमा मानवशास्त्री डा मुक्तसिंह तामाङ, लेखक दुपवाङ्गेल मोक्तान, गायिका मनिला सोताङ र नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई नेपाली समाजमा अतुलनीय योगदान दिएको भन्दै उपराष्ट्रपति पुनले सम्मान गर्नुभएको थियो । कार्यक्रममा कलाकार उदय सोताङ, मनिला सोताङ, मीना निरौलालगायतले गीत गाएर मनोरञ्जन प्रदान गर्नुभएको थियो । 

रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!