विप्लवका शक्तिशाली नेता सुदर्शनसहित नौ जना काभ्रेपलाञ्चोकबाट पक्राउ

Posted on: 23 Mar, 2019

चैत ९, काभ्रेपलाञ्चोक | प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मध्य कमाण्ड इञ्चार्ज सुदर्शन भनिने हेमन्तप्रकाश वलीसहित नौ जना नेता कार्यकर्तालाई आज बिहान काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको छ । 

खानीखोला गाउँपालिका–७ मिल्चेस्थित बोरेनी नजिकै काभे्रपलाञ्चोक र ललितपुरको सिमानाबाट बा१७च ४८९३ नं को स्कारपियो गाडीमा वलीसहितका नेता कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेल स्रोतले जनाएको छ । उनीहरुलाई दुई जिल्लाको सिमाना दुर्लङखोला पार गरेलगत्तै प्रहरीको विशेष ब्यूरो, महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले ‘सर्च÷अप्रेशन’का क्रममा पक्राउ गरेको हो । 

प्रहरी स्रोतका अनुसार वलीसहितको टोली काभे्रपलाञ्चोकबाट बिहान ललितपुर हुँदै काठामाडौँ जाँदै थियो । गाडीमै रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने अन्यमा धर्मराज राजबहाक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित तामाङ, शङ्कर अधिकारी, देव घिमिरे, सञ्जीव कार्की र लोकेन्द्र खड्का रहेका छन् । प्रहरी स्रोतका अनुसार वलीले गत फागुन १० गते बेलुका ललितपुरको नक्खुस्थित एनसेल कार्यालय अगाडि बम विस्फोट गराउँदा एक जनाको मृत्यु तथा दुई जना घाइते भएको घटनाको जिम्मा लिएका छन् । 

काभ्रेपलाञ्चोककै रोशी गाउँपालिका–२ खहरेपाँगुस्थित काफलडाँडामा गत मङ्गलबार साँझ ‘सर्च’मा गएको महानगरीय अपराध अनुसन्धानको प्रहरी टोलीले विप्लव नेकपाका कार्यकर्ता मेची नगरपालिका–३ का ३३ वर्षीय शिव धिताल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ नेवारटोलका ३३ वर्षीय विशाल तामाङलाई पक्राउ गरेको थियो । सो सर्च अप्रेशनका क्रममा वली भाग्न सफल भएका थिए । सरकारले ध्वंसात्मक गतिविधिमा संलग्न भएको भन्दै विप्लव माओवादीलाई गत फागुन ३० गतेदेखि प्रतिबन्ध लगाएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!