बालिका हत्यामा संलग्न पक्राउ

Posted on: 05 Jul, 2018

असार २१, बनेपा | काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ आधाबाटोमा बालिका हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय काभे्रपलाञ्चोकका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीका अनुसार बुधबार राति सोही स्थानका अन्दाजी ९÷१० वर्षीया एलिशा तामाङलाई घर नजिकै कुटपिट गरी हत्या गरेर फालेको आरोपमा एक जनालाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा बारा जिल्ला गटहला गाउँपालिका–४ का जोखन मन्सुरी रहेका छन् । 

मन्सुरी र सोही ठाउँकी एक महिला बाख्राको खोरमा आपत्तिजनक अवस्थामा बालिकाले देखेपछि अभिभावकलाई सुनाउने डरले बालिकालाई तानेर लगी मारेर भाग्न खोजेको र गाउँलेले देखेपछि पक्राउ गरेर प्रहरीलाई बुझाएको मरासिनीले बताउनुभयो । 

बालिका हत्यामा संलग्न मन्सुरी र ती महिलालाई आक्रोसित भिडले कुटपिट गरी घाइते बनाएका थिए । घाइते दुवै जनाको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । दुवै जना प्रहरीको नियन्त्रणमा रहेको र आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढिसकेको प्रहरीले जनाएको छ । 

मन्सुरी विगत नौ महिनादेखि सोही ठाउँमा निर्माण मजदुरको काम गर्दै आएको प्रहरीले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!