मूल्यमा कमी आएपछि किसान मारमा

Posted on: 21 Feb, 2017


फागुन १०, काभ्रे । बजारमा तरकारीको मूल्यमा कमी आएपछि नालाका किसान मारमा परेका छन् । 

व्यापारीले गत साता प्रतिकिलो रु १२ मा मुला किन्ने गरेका थिए, मङ्गलबार बजारमा पुग्दा प्रतिकिलो रु ९ मात्रदिएको टुकुचा नाला– ८ का गङ्गा घिमिरेले बताउनुभयो । उहाँ आफूले उत्पादन गरेको तरकारी दैनिक उग्रचण्डी कृषि बजारमा ल्याएर बिक्री गर्नुहुन्छ । 

“दुई घन्टा हिँडेर तरकारी बिक्री गर्न आउँछु, तर व्यापारीले उचित मूल्य दिँदैनन,” उहाँले भन्नुभयो । व्यापारीले मनोमानी रुपमा तरकारीको मूल्य तोक्ने गरेको घिमिरेको आरोप छ । 

टुकुचा नालामा सबैभन्दा बढी मुला उत्पादन हुन्छ । विगत वर्षमा जस्तो किसानले तरकारीको मूल्य पाउन सकेका छैनन् । उचित मूल्य नपाउँदा तरकारीमा मेहनत गर्न छाडेको स्थानीयवासी भवानी घिमिरे बताउनुहुन्छ । एक्कासि तरकारीको मूल्यमा कमी आएको हो । 

गङ्गा र भवानी जस्तै यहाँका अन्य किसान तरकारीको उचित मूल्य नपाएपछि मारमा परेका छन् । “प्रमुख आयस्रोत नै तरकारी खेती हो, उचित मूल्य नपाउँदा खर्च धान्न मुस्किल भएको छ,” उग्रचण्डी नाला– ७ का सीताराम दाहालले भन्नुभयो । 

कालीमाटी बजारमै तरकारीको मूल्यमा कमी आएपछि त्यसको मार किसानलाई परेको उग्रचण्डी कृषि बजारका व्यापारी जितेन्द्रप्रसाद गुप्ताले बताउनुभयो । उग्रचण्डी तरकारी बजारमा दैनिक उग्रचण्डी नाला, टुकुचा नाला, देवीटार, नयाँगाउँ, देउपुर गाविसलगायतका किसान तरकारी बिक्री गर्न आउने गरेका छन् । 

उक्त बजारमा हाल मुलाको खरिद मूल्य प्रतिकिलो रु ८ देखि रु १०, काउली रु १० देखि रु १२ तथा मटरकोसाको रु ४४ देखि रु ४६ सम्म रहेको छ । गत वर्षभन्दा सस्तोमा तरकारी बिक्री भइरहेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!