वित्तीय प्रणालीमा स्थायित्व आएको छ: अर्थमन्त्री

Posted on: 14 Dec, 2018

मङ्सिर २८, बनेपा | अर्थमन्त्री डा युवराज खतिवडाले सानो प्रयासबाट वित्तीय प्रणालीमा स्थायित्व आएको बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यालय उद्घाटन गर्दै उहाँले महिलाको वित्तीय पहुँचमा पूँजी, सूचना र प्रविधिमा पहँुच पुर्याउन आवश्यक रहेको बताउनुभयो । 

समाजमा प्रतिष्ठित हुन आर्थिक र राजनीतिक सवलीकरणमा पहँुच र आयआर्जनबाट उत्पादन शक्तिमा पुग्न आवश्यक रहेको अर्थमन्त्रीको भनाइ थियो । उहाँले आफू नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा सम्पूर्ण वित्तीय कारोवार गर्ने गैरसरकारी संस्थालाई लघुवित्त वित्तीय संस्थामा आउन आह्वान गरेको चार वर्षपछि नौ संस्था रुपान्तरण भएको र १६ संस्था बाँकी रहेको बताउनुभयो । 

कार्यक्रममा संस्थाले राम्रो काम गर्ने प्रमुख तथा प्रतिनिधिलाई सम्मान गरियो । साँगामा केन्द्रीय कार्यालय रहेको सो संस्थामा ५७ हजार ७२१ ग्राहक सदस्य रहेको सो संस्थाले हालसम्म रु तीन अर्ब १४ करोड ५० लाख ६५ हजार लगानी गरिरहेको संस्थाले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!