काभ्रेपलाञ्चोकमा स्थानीय तहको पुनः संरचनाको अझै टुङ्गो लागेन

Posted on: 25 Oct, 2016

कात्तिक ९, बनेपा । प्रमुख दलबीचको विवादका कारण काभ्रेपलाञ्चोकमा स्थानीय तहको पुनःसंरचनाको अझै टुङ्गो लागेको छैन । 

केही दिन अघि एक उपमहानगरपालिकासहित १२ तहमा सैद्धान्तिक सहमति भए पनि भोट बैंकको मुद्दाले प्राथमिकता पाएपछि स्थानीय तहको पुनःसंरचना टुङ्गोमा पुग्न नसकेको राजनीतिक दलले जनाएका छन् । 

नेकपा (एमाले) का उपाध्यक्ष अशोक व्याञ्जुले नयाँ कार्यविधि बनाउने प्रमुख दलको सहमति भएपछि पुनः संरचनाको विषय स्थगन भएको उल्लेख गर्दै नयाँ कार्यविधि आइसकेकाले केही दिनमा नै टङ्गोमा पुगिने बताउनुभयो । 

नयाँ कार्यविधिमा ११ देखि १५ सम्मको स्थानीय तह पुनःसंरचनाको विषय आएको जानकारी दिँदै उहाँले दलहरुबीच पुनः छलफलको तयारी भएको बताउनुभयो । 

नेकपा (माओवादी केन्द्र) काभ्रेपलाञ्चोकका अध्यक्ष दिनानाथ गौतमले सीमा र सङ्ख्याको विवादका कारण सैद्धान्तिक सहमति भए पनि काँग्रेस निर्णयबाटपछि हटेको आरोप लगाउँदै उपमहानगरपालिका बनाउने वा नबनाउने विषयमा फरक/फरक मत आएको बताउनुभयो । 

नेपाली काँग्रेसका कार्यसमिति सदस्य महेश पौडेलले नयाँ कार्यविधि आएपछि एक सातामा नै पुनःसंरचनाको टङ्गो लाग्ने उल्लेख गर्दै भोट बैंकको विषयले भूगोलमा प्राथमिकता पाएको धारणा राख्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!