काभ्रेकी लक्ष्मी परियार र नुवाकोटकी कञ्चन भुजेलको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग

Posted on: 14 Dec, 2016

मङ्सिर २९, काठमाडौँ । संयुक्त विद्यार्थी सङ्गठन अन्तर्गत छात्रा सञ्जालले काभ्रेकी लक्ष्मी परियार र नुवाकोटकी कञ्चन भुजेलको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गरेका छन् । 

हत्याका बिरोधमा अनेरास्ववियु, नेवि सङ्घलगायत १३ विद्यार्थी सङ्घ संस्थाका छात्राले संयुक्त रुपमा बागबजारस्थित पद्मकन्या क्याम्पसमा भेला भई रत्नपार्कस्थित शान्तिबाटिकामा पदयात्रा गरेका थिए । 

सो अवसरमा सञ्जालका अध्यक्ष नवीना लामाले महिलामा हुने विभेद्ले उनीहरुमाथि हिंसा भइरहेको बताउँदै परियार र भुजेलको हत्या जघन्य अपराध भएकाले सो घटनामा संलग्नलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने बताउनुभयो । 

लोकतान्त्रिक मुलुकमा सरकारले सबै नागरिकप्रति समानता तथा सामाजिक न्यायको अनुभूति गराउनुपर्ने माग गर्दै कडा कानुन नबनेको अहिलेको अवस्थामा भएका कानुनका आधारमा पनि दोषीलाई सजायको व्यवस्था गर्न अध्यक्ष लामाले आग्रह गर्नुभयो । 

अनेरास्ववियुका सचिव आरसी लामिछानेले सो घटना निन्दनीय रहेको बताउँदै उक्त सञ्जालका प्रतिनिधि नुवाकोटकी भुजेलको शव फेला परेका स्थानमा गएर चाँडो स्थलगत अध्ययन गर्ने जानकारी दिनुभयो । 

सो विषयमा छानबिन गरी दोषीलाई कारबाही गराउन दबाब दिने उद्देश्यले गृहमन्त्री विमलेन्द्र निधिलाई ध्यानाकर्षण गराउने कार्यक्रम रहेको पनि उहाँले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!