बनेपामा २५ वर्षपछि मुकुन्डो नाच हुँदै

Posted on: 06 Jan, 2017

पुस २२, बनेपा । बनेपाको लायकु र गणेशस्थानमा मुकुन्डो देवी नाच हुने भएको छ । झन्डै २५ वर्षपछि हुन लागेको यो नाच तीनदिनसम्म सञ्चालन हुने जनाएको छ । 

नेवार समुदायभित्रका पनि डङ्गोल, महर्जन र तुलाधरले आगामी २६ गते गर्न लागेको ‘श्वेतकालीन नरदेवी नेटमरु अजिमा’ गण नाचको विभिन्न तयारी सुरु भइसकेको श्वेतकालीन संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण डङ्गोलले जानकारी दिनुभयो । 

नाचका लागि खाने, बस्ने सुविधा र स्वास्थ्य शिविर सञ्चालनका लागि आवश्यक तयारी भइरहेको उहाँले बताउनुभयो । 

अध्यक्ष डङ्गोलले विगतमा यस नाचका लागि तत्कालीन राजाले सहयोग गरेको उल्लेख गर्दै अहिले सरकार दायित्वबाट पन्छिन खोजेको आरोप लगाउनुभयो । गुठीका गुठियारले व्यक्तिगत रुपमा सङ्कलन गरेको रु तीन लाखबाट सो नाच हुन लागेको छ । ललितपुर र कीर्तिपुरमा सम्पन्न भइसकेको सो नाच भोलि शनिबार भक्तपुरमा पनि हुँदैछ । 

देशमा दैवी प्रकोप नहोस् र नागरिकले सुरक्षित जीवनयापन गर्न पाउन् भन्ने धार्मिक विश्वासले विगत लामो समयदेखि यो नाच नाच्दै आएको अध्यक्ष डङ्गोलको भनाइ छ । 

अनुष्ठानिक र मनोरञ्जनात्मक दुईखाले हुने सो मुकुन्डो नाच बनेपामा अनुष्ठानिक विधिमा हुन लागेको संस्कृतविद् ज्ञानकाजी मानन्धरले जानकारी दिनुभयो । 

तान्त्रिक विधिबाट पूजाआजा गरिने भएकाले यसलाई अनुष्ठानिक भनिएको उल्लेख गर्दै मानन्धरले सो नाचमा काठमाडौँको नरदेवीबाट २०० जना सहभागी हुने बताउनुभयो । 

पहिलो दिन विधिपूर्वक पूजाआजा हुन्छ, त्यसपछि देवीले पदभार ग्रहण गर्छन् र नाच नाच्छन् उहाँले भन्नुभयो । 

संस्कृतविद् मानन्धरले नाच सकिएपछि देवी चण्डेश्वरी माताको पूजा हुने उल्लेख गर्दै श्वेतकालीन देवी चण्डेश्वरी आफ्नो माता भएकाले बनेपामा नै सो नाच हुने गरेको तर्क गर्नुभयो । बाजागाजासहित आयोजना हुने सो नाचको आवाज गर्भवती महिलाले सुने गर्भवती महिलाबाट जन्मने शिशु अङ्गभङ्ग हुने धार्मिक विश्वाससमेत रहेको छ । यो नाच हेर्न, पाँचखाल, नमोबुद्ध, दाप्चा क्षेत्रबाटसमेत स्थानीयवासी बनेपा आउँछन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!