दृष्टिविहीन, कैदी र बहिरा विद्यार्थी परीक्षामा सहभागी

Posted on: 16 Mar, 2017

चैत ३, धुलिखेल । आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षामा काभ्रे जिल्लाबाट दुई जना दृष्टिविहीन, चार जना कैदी बन्दी र सात जना बहिरा विद्यार्थी परीक्षामा सहभागी भएका छन् । 

जिल्ला शिक्षा कार्यालय काभ्रेको परीक्षा शाखाका शाखा अधिकृत रामबहादुर तामाङका अनुसार दृष्टिविहीन सरिता कार्की र प्रवेग तामाङले श्रीखण्डपुर मावि केन्द्रबाट परीक्षा दिएका हुन् । 

त्यस्तै जिल्ला कारागार शाखा काभ्रेबाट विभिन्न मुद्दामा बन्दी रहेका चार जनाले परीक्षामा सहभागिता जनाइरहेका छन् । वीरबहादुर तामाङ अपहरण तथा हातहतियार मुद्दा, सुरेश श्रेष्ठ कर्तव्य ज्यान मुद्दा, दिनेश श्रेष्ठ सवारी मुद्दा र पेमा लामा ज्यान मुद्दामा कैद खेपिरहेको जनाइएको छ । 

उनीहरु चारै जनाले जिल्ला कारागारबाटै परीक्षा दिइरहेका छन् । यसैगरी सञ्जीवनी मावि केन्द्रबाट सात जना बहिरा विद्यार्थीले परीक्षा दिइरहेका छन् । जसमा शिशिर दवाडी, प्रदीप सापकोटा, लुना पन्त, शारदा अधिकारी, भेषकुमारी चौलागार्इं, रेविका तामाङ र सुनिता नेपाल रहेका छन् । 

शाखा अधिकृत तामाङकाअनुसार सहभागीमध्ये आठ हजार ८० जना नियमिततर्फको परीक्षार्थी रहेका छन् । त्यसबाहेक एक्जाम्टेडतर्फ नयाँमा तीन सय १५ र पुराना तर्फका दुई सय २५ जना रहेका छन् । 

कुल परीक्षार्थीमध्ये एक सय ६५ जना भने विद्यालयको कुल हाजिरीको ७५ प्रतिशत भन्दा कम हाजिर भएकाले परीक्षामा सहभागिता जनाउन नपाएको शाखा अधिकृत तामाङले जानकारी दिनुभयो । 

जिल्लाका सामुदायिक र संस्थागत विद्यालय गरी दुई सय १६ वटा विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भइरहेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!