युवा लक्षित कार्यक्रम सम्झौता गर्नमा ढिलाइ

Posted on: 21 Mar, 2017

चैत ८, धुलिखेल । जिल्ला पुशसेवा कार्यालय काभ्रेपलाञ्चोकले विभिन्न कार्यक्रमका लागि युवा व्यवसायीलाई लक्षित गरी वितरण गरेको कार्यक्रम सम्झौता गर्नमा ढिलाइ भएको छ । 

जिल्ला पशुसेवा कार्यालयका अनुसार आव २०७३/७४ मा विभिन्न २४ वटा शीर्षकमा गरी दुई सय १० वटालाई कार्यक्रम परेको सूचना एक महिना अगाडि नै प्रकाशित गरिएको थियो । “सूचना प्रकाशन गरेको एक महिना भयो, तर पनि सम्बन्धित पक्ष सम्झौता गर्न आउने क्रम चलिरहेको छ,” कार्यालयका प्रमुख डा नारायणबहादुर श्रेष्ठले भन्नुभयो । 

सोमबारसम्ममा ४३ जनाले मात्रै सम्झौता गरेका छन् । योजना परेकाको पनि सम्झौताअनुसारको बस्तु नभएको, भएकाको बिमा नभएको र खोर नभएका पाइएको छ । कार्यालयले गत फागुन १ गते अनुदान वितरणको सूचना प्रकाशित गरेको थियो । 

सहकारी र फार्मको सङ्ख्या कम र व्यक्तिलाई बढी योजना वितरण गरेको श्रेष्ठले बताउनुभयो । सम्झौताका लागि आउनेको तोकेअनुरुपको बस्तुको सङ्ख्या नपुगेको र कतिपयको कागजात नै अपुग भएका कारण ढिलाइ भएको हो । योजनामा पर्ने कार्यक्रममा रु आठ लाखदेखि रु पाँच हजारसम्मको अनुदान व्यवस्था छ । 

पशुसेवा कार्यालयले चालु आवमा सबैभन्दा बढी अनुदान सहकारी कार्यक्रमअन्तर्गत बङ्गुरपालन र कुखुरापालनका लागि रु आठ लाख ३० हजार रहेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!