काभ्रेमा छुट्टाछट्टै दुर्घटनामा दुईजनाको मृत्यु

Posted on: 01 Jan, 2018

पुस १७, धुलिखेल । काभ्रेपलाञ्चोकमा आज भएका छुट्टाछुट्टै दर्घटनामा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं ११ पात्लेखेतमा आइतबार बेलुका काठमाडौँबाट ओखलढुंगा जाँदै गरेको बा३ख ५९५५ नंको यात्रुबाहक बसले सोही बसबाट झर्दै गर्दा काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका–१ का ३७ वर्षीया फूलमाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो । 

बसबाट झर्दै गरेको अवस्थामा तामाङलाई बसले किचेर घाइते बनाएकामा धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान उहाँको मृत्यु भएको थपलियाले बताउनुभयो । 

त्यस्तै पाँचखाल नगरपालिका–८ खावामा आइतबार बेलुका धुलिखेलबाट दोलालघाटतर्फ जाँदै गरेको बा७१प २०१५ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना१ज १८८४ नंको सुमो गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक ललितपुर जिल्ला टीकाथली नगरपालिका–४ का विनय देउजाको मुत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भई धुलिखेल अस्पतालमा भर्ना गरिएकामा उपचारका क्रममा आज बिहान २३ वर्षीय देउजाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सोही क्रममा मोटरसाइकलको पछाडि सवार २३ वर्षीया अमिता आचार्य घाइते भएको र उहाँको टाउकामा चोट लागेको जनाएको छ । उहाँको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । 

दुबै सवारी साधन र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही भइरहेको प्रहरीले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!