स्थानीय तहका विवाद टुङ्गो लगाउँदै न्यायिक समिति

Posted on: 30 Jan, 2018

माघ १६, बनेपा | काभ्रेपलाञ्चोक जिल्लाको स्थानीय तहका न्यायिक समितिले आएका विवाद टुङ्गो लगाउन थालेका छन् । 

जिल्लाका केही नगरपालिकामा औपचारिक रुपमा न्यायिक समिति नबने पनि विवाद निरुपणको काम भएको र गाउँपालिकामा आएका विवाद पनि टुङ्गो लगाउन थालिएको छ । 

पाँचखाल नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक लक्ष्मी दनुवारले साँध, सिमाना, बहुविवाह, अंशबण्डा, सम्बन्ध विच्छेदलगायतका १५ वटा विवाद दर्ता भएकामा तीमध्ये १० वटा विवादको टुङ्गो लागिसकेको जानकारी दिनुभयो । 

उहाँले विवाद निरुपण दुईपक्षीय सहमतिका आधारमा भएको उल्लेख गर्दै नगरपालिकाबाट निरुपण हुन नसकेका विवाद जिल्ला अदालत पठाइएको बताउनुभयो । 

हामीले दुई पक्षलाई राखेर सहमति गराउनमै जोड दिँदै आएका छौ, सहमति नभए पीडित अदालत जान्छन्, उहाँले भन्नुभयो । 

स्थानीय तहमा नगरपालिकाका उपप्रमुख तथा गाउँपालिकाका उपाध्यक्षको नेतृत्वमा न्यायिक समिति हुन्छ । 

धुलिखेल नगरपालिकाका उपप्रमुख विमला शर्माले नगरपालिकामा न्यायिक समिति निर्माणको काम अझै बाँकी रहे पनि झै झगडा, साँध, सिमाना, सम्बन्ध विच्छेद र जग्गा विवादका विवाद टुङ्गो लगाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “न्यायिक काम गरिरहेका छौं तर न्यायिक समिति निर्माण भने भएको छैन ।” उपप्रमुख शर्माले नगरसभाबाट न्यायिक समिति निर्माणको काममा ढिलाइ भएपनि विवाद निरुपणको काम रोकिएको छैन भन्नुभयो । 

भुम्लु गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक कल्पना श्रेष्ठले सम्बन्ध विच्छेद, घरेलु हिंसा, साँध–सिमाना, अंशबण्डालगायतका विवाद तथा आएका र तीमध्ये अधिकांश विवाद टुङ्गो लगाइएको जानकारी दिनुभयोे । उहाँले भन्नुभयो, “स्थानीय तहबाट टुङ्गो लगाउन नसकेका विवाद अदालतमा जान सुझाव दिएका छौँ ।” 

संविधानको धारा २१७ मा नगरपालिकाका उपप्रमुख र गाउँपालिकाको उपाध्यक्ष न्यायिक समितिको संयोजक रहने प्रावधान छ । जिल्लामा छ नगरपालिका र सात गाउँपालिकासहित १३ स्थानीय तह छन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!