जनप्रतिनिधि हुनु त यस्तो पो, आफ्नो सुविधाले दुई एम्बुलेन्स खरिद

Posted on: 24 Feb, 2020

फागुन १२, काभ्रे | जनप्रतिनिधिले ‘मानवीय सेवामा  कसरी सहयोग पुर्याउनु पर्छ’ भन्ने उदाहरण रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौला बन्नुभएको छ । 

उहाँले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको बजेटले दुई एम्बुलेन्स खरिद गरी मानवीय सेवामा सहयोग पु¥याउनुभएको छ । गाउँपालिकाको कार्यपालिका बैठकबाट  पारित गरि  एम्बुलेन्स खरिद गरिएको जनाइएको छ ।

वडा नं ५ र ११ मा रहनेगरी दुवै वडास्थित एम्बुलेन्स सञ्चालन समितिका अध्यक्षद्वयलाई आइतबार कार्यक्रममा संविधानसभा सदस्य तीर्थ लामाले हस्तान्तरण गर्नुभयो । सरकारद्वारा कर छुटसहित रु २१ लाख ५२० मा दुई एम्बुलेन्स खरिद गरिएको हो ।  

ती एम्बुलेन्सबाट रोशी गाउँपालिकाको ३५ हजार बासिन्दाका साथै नमोबुद्ध नगरपालिका, महाभारत गाउँपालिका, तेमाल गाउँपालिका तथा छिमेकी जिल्ला सिन्धुलीको सुनकोशी गाउँपालिकाका बासिन्दा लाभान्वित हुने छन् । 

उपाध्यक्ष बर्तौलाले आफ्नो सुविधाभन्दा पनि पालिकावासीको आवश्यकता मध्यनजर गरी एम्बुलेन्स खरिद गरिएको कार्यक्रममा बताउनुभयो । गाउँपालिकाले उपाध्यक्षलाई गाडी खरिद गर्न गत आर्थिक वर्षमै रु २६ लाख रकम छुट्याएको थियो । गाउँपालिका अध्यक्ष दलबहादुर लामाले उपाध्यक्षले उदाहरणीय काम गर्नुभएकोमा खुशी व्यक्त गर्नुभयो । 

बर्तौलाले गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएदेखिनै गाउँपालिकाको कुनै पनि सवारीसाधन प्रयोग गर्नुभएको छैन । “अध्यक्षको गाडी अहिलेसम्मा दुईपटक मात्रै चढेको छु, मैले निर्वाचित भएदेखिनै घरबाट गाउँपालिका कार्यालय आउन जान सार्वजनिक यातायात प्रयोग गर्दै आएको छु”, उहाँले भन्नुभयो । भौगोलिकताले विकट एवं पहाडी भूभाग भएकाले गाउँपालिकाका बासिन्दाले समयमै उपचार पाउन् भन्ने उद्देश्यले आफ्नो सवारी बजेटबाट एम्बुलेन्स खरिद गर्न लगाएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “म जनताको सेवा गर्न निर्वाचित भएकी हुँ, म जहाँ पनि हिँडेर पुग्न सक्छु, तर गर्भवती र बालबालिका तथा वृद्धवृद्धाका लागि समयमै उपचार होस् भन्ने चाहेर आफ्नो गाडीलाई छुट्याइएको रकमबाट एम्बुलेन्स खरिद गर्न लगाएकी हुँ ।” 

उपाध्यक्ष बर्तौलाले आफूलाई आउने इन्धन खर्चलाई पनि सामाजिक सेवामै खर्चिनुभएको छ । उहाँलाई वार्षिकरुपमा इन्धनबापत आउने रु तीन लाख टुहरा तथा अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्नुभएको हो । हालसम्म १४ विद्यालयका ४८ टुहुरा तथा अपाङ्गता भएका बालबालिकालाई उनीहरुको शिक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यले जनही रु छ हजार २५० सहयोग गरेको उहाँले बताउनुभयो । 

गाउँपालिकाको शिक्षा शाखामार्फत गाउँपालिकामा अवस्थित ६९ सामुदायिक विद्यालयबाट थप टुहुरा तथा अपाङ्गता भएका बालबालिकाको तथ्याङ्क उपलब्ध भयो भने ती बालबालिकालाई क्रमैसँग सहयोग उपलब्ध गराइने उपाध्यक्ष बर्तौलाले बताउनुभयो । गाउँपालिकाको न्यायिक समिति अध्यक्षलगायत विभिन्न नौवटा समितिको संयोजकका रुपमा रहनुभएका गाउँपालिका उपाध्यक्ष बर्तौलाले कुनै पनि बैठकका भत्तासमेत लिनुहुन्न । यसअघि पाँचखाल नगरपालिकाले गत आर्थिक वर्षमा १४ वडाध्यक्षलाई सवारीसाधन खरिदका लागि छुट्याइएको बजेटबाट गत असारमा दमकल खरिद गरेको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!