महिलालाई स्कुटर चलाउन तालीम

Posted on: 16 Mar, 2021

चैत ३, काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले महिलालाई सीप प्रदान गर्ने उद्देश्यले स्कुटर चलाउने तालीम सञ्चालन गरेको छ । तालीममा महिला जनप्रतिनिधि सहित विभिन्न संस्थाका  ४२ जनाको सहभागिता छ । 

नगर प्रमुख टङ्कप्रसाद तिमल्सिनाले स्कुटर सिकेपछि चालक अनुमतिपत्र प्राप्त गर्ने महिलाका लागि गाडी चलाउन सिकाउने जानकारी दिनुभयो । नगरपालिका उपप्रमुख रामदेवी तामाङले विगतका दिनमा नगरपालिकाले पूर्वाधार निर्माणको काम अघि बढाइएकामा अब सीप विकासमा  जोड दिएको बताउनुभयो । 

प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले सीप हासिल गरेपछि महिलामाथि हुने गरेको हेपाइमा कमी आउने विश्वास व्यक्त गर्नुभयो । तालीम यही चैत १६ गतेसम्म सञ्चालन हुने महिला तथा बालबालिका शाखाप्रमुख तारादेवी सुनुवारले बताउनुभयो । 

नगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गर्नाका साथै उद्यमी र आत्मनिर्भर बनाउन विभिन्न अन्तरक्रिया, तालीम र गोष्ठी जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यसअघि नगरपालिकाले सीप विकासअन्तर्गत ३०  महिलालाई व्यवसाय सञ्चालन गरेर आर्थिक उपार्जनमा लाग्नका लागि लप्सीको परिकार बनाउने तालीम दिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!