अन्नपूर्ण म्याराथनमा रिमाल प्रथम

Posted on: 03 Jun, 2018

जेठ २०, पोखरा | अन्नपूर्ण म्याराथनमा नेपाली सेनाका हरिकुमार रिमाल प्रथम हुनुभएको छ । 

म्याराथनमा नेपाली सेनाकै पूर्ण तामाङ र होमलाल श्रेष्ठ क्रमशः द्वितीय र तृतीय स्थान हासिल गरे । 

विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत आज अन्नपूर्ण आधार शिविरदेखि घान्दु्रकसम्मको कूल ४२.१९५ किलोमिटरको दुरी रिमालले चार घण्टा १६ मिनेट ४८ सेकेन्डमा पूरा गर्नुभयो । उनले रु एक लाख पुरस्कार पाए । 

यस्तै तामाङले चार घण्टा १७ मिनेट ४२ सेकेन्ड तथा श्रेष्ठले चार घण्टा २० मिनेट ३८ सेकेन्डमा उक्त दुरी पार गर्नुभयो । तमाङले रु ७० हजार तथा श्रेष्ठले रु ५० हजार पुरस्कार पाए । 

त्यस्तै म्याराथनमा १० जनाभित्र रुपबहादुर बुढा, भूमिराज राई, अनिलकुमार वाइवा, दुर्गाराज बुढामगर, रुपलाल बुढामगर, शेरबहादुर थारु र दामोदर बुढामगर सफल हुनुभएको छ । म्याराथनका कान्छा धावक घान्द्रुकका १६ वर्षीय अनिल गुरुङले ११आँैं स्थान हासिल गरे । 

अन्नपूर्ण आधार शिविरबाट शुरु भएको म्याराथन दौड माछापुच्छ्रे-आधारशिविर हुँदै देउराली, हिमालय, दोभान, बाम्बो, सिनुवा, छोम्रोङ, घुर्जुङ, टाढापानी, भांैसी खर्क हुँदै घान्दुकमा आई सम्पन्न भएको थियो । म्याराथनका विजेतालाई महोत्सवको तेस्रो चरणको कार्यक्रम समापन समारोहका क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!