निर्माण व्यवसायी भागेपछि श्रमिकको बिचल्ली

Posted on: 08 Oct, 2020

असोज २२, खोटाङ । सडक ढलानको काम गरेको पैसा नदिइ निर्माण व्यवसायी फरार भएपछि श्रमिकहरु आक्रोशित बनेका छन् । भर्खरै सम्पन्न खोटाङको दिक्तेल बजारस्थित रत्नपार्कको किराँतचोक–सिचाईँ गेटसम्मको सडक ढलानको काममा खटिएका श्रमिकको पैसा नदिई निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि श्रमिकहरु आक्रोशित बनेका हुन् ।

गत भदौ २८ गते सडक ढलानको काम सकेपछि ‘विमान राई’ भनिने निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि रासनबाहेक काम गरेको एकै पैसा पनि आफूहरुले नपाएको श्रमिक सुक्छिरी शेर्पाले बताउनुभयो । शेर्पाका अनुसार रु तीन लाख ९५ हजार ३५० रकम पाउनुपर्नेबारे निर्माण व्यवसायी विमान र श्रमिकबीच हिसाब भएको थियो । 

सडक ढलानको काम सकेपछि पैसा लिन दिक्तेलमा बोलाएको तर, पेटी ठेकेदार भागेको श्रमिकहरुले बताएका छन् । आफूहरुले काम गरेको पैसा नपाएपछि पैसा दिलाइ दिन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र प्रहरीसम्म पुगे पनि उनीहरुले समेत बेवास्ता गरेको श्रमिकहरुको गुनासो छ । 

आफूहरुले पाउने पैसा दिलाइ दिन दुई पटक नगरपालिका पुगेर समस्या राख्दा नगर उपप्रमुखले वकिलसँग कुरा गर्नु भन्दै टारेको शेर्पाले बताउनुभयो । दिक्तेलस्थित सामुदायिक प्रहरी सेवा केन्द्र पुग्दा पनि प्रहरीले समेत पैसा लेनदेनको कारोवार हेर्दैनौँ भन्दै अदालत जान भनेर फर्काइ दिएको उनीहरुको गुनासो छ । 

आफूबाट कन्ट्र्याकमा काम लिएका विमानले रु सात लाख ७० हजार बराबरको काम गरेको र आफूले सबै रकम भुक्तानी दिइसकेको अर्का निर्माण व्यवसायी लोकेन्द्र राईले बताउनुभयो । “श्रमिकले पैसा नपाएको भन्ने मैले पनि सुनेको छु”, उहाँले भन्नुभयो, “विमानजी मसँग नि सम्पर्कमा छैन । सम्पर्क गर्दा उनको फोन अफ पाइएको छ ।”

किराँतचोकदेखि सिचाईँगेटसम्मको सडक ढलान दिव्य ज्योति आरडी रुजन जेभीले ठेक्का पारेकामा राईमार्फत कन्ट्र्याकमा लिएर विमानले काम गरेका थिए । अहिले काम लगाउने निर्माण व्यवसायी भागेपछि १९ जनाभन्दा बढी श्रमिक दिक्तेल बजारमै अलपत्र परेका छन् । 

लामो समयसम्म कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल बजारको सडक यस वर्ष तीन खण्डमा विभाजन गरेर ढलाको काम गरिएको थियो । शहरी विकास तथा भवन निर्माण विभाग विराटनगरको क्रमागत योजनाअन्तर्गत करिब रु १५ करोड रकम लागतमा सम्पन्न हुने दिक्तेल बजारको सडक ढलानका लागि यस वर्ष रु पाँच करोड बजेट थियो । 

मध्यपहाडी लोकमार्गले छोएको दिक्तेल बजार ढिलै भए पनि ढलान हुन थालेपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् । हप्ताको दुई पटक बुधबार र शनिबार हटियासमेत लाग्ने दिक्तेलबजारको सडकमा अहिले हिउँदको समयमा धुलो र बर्सातको समयमा हिलोका कारण समस्या हुने गरेको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!