तोकिएको मितिमा पाँच स्थानीय तहले गाउँसभा गर्न सकेनन्

Posted on: 28 Jun, 2019

असार १३, खोटाङ | जिल्लाका दश स्थानीय तहमध्ये पाँच स्थानीय तहले तोकिएको मितिमा नीति तथा कार्यक्रम एवम् बजेट ल्याउन सकेनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार १० गतेभित्र अनिवार्य नीति तथा कार्यक्रम एवम् बजेट ल्याउन सर्कुलर गरे पनि ल्याउन नसकेको हो ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका बराहपोखरी गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका, खोटेहाङ गाउँपालिका, साकेला गाउँपालिका र रावाबेँसी गाउँपालिकाले नीति तथा कार्यक्रम एवम् बजेट ल्याएका छैनन् । जिल्लाका दुई नगरपालिका र तीन गाउँपालिकाले तोकिएकै मितिमा नगर तथा गाउँसभा सम्पन्न गरेको छ । 

नीति तथा कार्यक्रम एवम् बजेटको सम्पूर्ण तयारी पूरा भए पनि विद्युत् प्राधिकरणमा काम परेर काठमाडौँ जानुपर्ने भएकाले असार १७ गते गाउँसभा गर्ने तयारी गरिएको साकेला गाउँपालिका प्रमुख अर्जुन खड्काले बताउनुभयो । 

समायोजनले कर्मचारी अभाव हुँदा र तयारी नपुग्दा असार १६ गते नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरिएको खोटेहाङ गाउँपालिका प्रमुख प्रदीप राईले बताउनुभयो । खोटेहाङको तीन वडा सचिवविहीन छन् । वडामा पठाइएको ‘सिलिङ’अनुसार योजना बनाएर ल्याउन ढिला भएकाले रावाबेँसी गाउँपालिकाको गाउँसभा पनि असार १६ गतेका लागि सारिएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताउनुभयो । 

बराहपोखरी गाउँपालिकाको असार १५ गते गाउँसभा गर्ने तयारी गरिएको उपप्रमुख गोमा मगरले बताउनुभयो । गाउँसभाका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जन्तेढुङ्गा गाउँपालिकाको भने अहिलेसम्म टुङ्गो लागेको छैन । असार २० गतेसम्म नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी छलफल भइरहेको प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईंले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!