खोटाङका अधिकांश स्थानमा यातायात सेवा बन्द

Posted on: 03 Jul, 2018

चिसाङ शेर्पा | असार १९, खोटाङ | बर्षातसँगै खोटाङका अधिकांश स्थानमा यातायात सेवा बन्द भएको छ । ६/६ महिना सञ्चालनमा आइरहेका कच्ची सडकहरु बर्षातसँगै हिलाम्मे र खाल्डाखुल्डी भएका कारण यातायात सेवा बन्द भएको हो । बर्षातको समयमा अत्याधिक पानि पर्ने, कच्ची बाटोमा गाडी तथा मोटरसाईकल भाँसिने समस्या हुन थालेपछि सदरमुकाम देखी गाउँ–गाउँसम्मको यातायात सेवा टुटेको छ ।

प्रायः हिउदको समयमा दुई नगरपालिका, आठ गाउँपालिकाको सबै स्थानमा पुग्ने यातायात सेवा असार दोश्रो सातादेखी पुग्न छोडेको छ । सदरमुकाम दिक्तेलबाट ऐसेलुखर्क, बाक्सिला खार्मी, पाथेका, लामिडाडाँ, खानीडाडाँ, दिक्तेल–चखेवा भञ्जयाङ्सम्मकोे यातायात सेवा बन्द भएको खोटाङ यातायात व्यवसायी संघका महासचिव राम कुमार हिङमाङले जानकारी दिनुभयो ।

हाल दिक्तेलबाट बुइपा, जालपा लोकल यातायात सञ्चालन भईरहेको छ । पानि धेरै परेमा केही समयपछि त्यही सेवा पनि बन्द हुने महासचिव हिङमाङले बताउनुभयो । बर्षातका कारण यातायात सेवा बन्द भएपछि स्थानियहरुलाइ शास्ती भएको छ । दिक्तेलबाट दक्षिणी भेगतर्फ जाने दिक्तेल–तावाखोला सडक खण्ड भने गएको बैशाख देखी नै अबरुद्ध छ । 


हाल जिल्लाबाट दिक्तेल–काठमाण्डौ, दिक्तेल–धरान, दिक्तेल–विराटनगर, दिक्तेल–कटारी सिधा यातायात सञ्चालनमा रहेको छ । यसैविच, आगामी असार २५ गतेबाट दिक्तेल–काँकडभिट्टा सिधा यातायात सञ्चालन हुने खोटाङ यातायात व्यवसायी संघले जनाएको छ । दिक्तेल–काँकडभिट्टा सिधा यातायात सुरु भएपछि झापासम्मको यात्रामा सहजता पुग्ने अनुमान गरिएको छ । हाल जिल्लामा तीनसय बढी सानाठूला सवारी साधन सञ्चालनमा रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!