विधार्थी आफै तरकारी बेच्न बसेपछी...

Posted on: 08 Dec, 2018

चिसाङ शेर्पा | मंसिर २२, खोटाङ | सरस्वती मावि दिक्तेलका शिक्षक काजी खतिवडा बिहानै शनिबारे हाटमा किनमेलका लागि दिक्तेलस्थित हाँटडाँडामा पुगे । हटियाको वातावरण देखेर उनी चकित भए । किन आज बजारमा चहलपहल बढी ? यो उनको मनमा उब्जेको प्रश्न थियो । बुधबार र शनिबार लाग्ने हाटमा अन्य समयमा खाशै मान्छेको भीड नहुने सोचाईले हाटियामा पुगेका उनी दंग पर्नु स्वभाविक नै थियो ।

अन्य समयभन्दा फरक देखिएको हटियामा उनीजस्तै धेरैको मनमा प्रश्न उठेको थियो । मान्छेको भीड किन धेरै ? पछि बुझ्दै जादा त्यहाँ बिल्कुलै नयाँ र पृथक बजार लागेको थियो । बजारको दायाँबायाँ हातमा प्लेकार्ड बोकेका विधार्थीको घुईचो थियो । ‘उद्धमी बनौं कृषि उत्पादनमा बृद्धि गरौं, पहेली मकैको च्याख्ला विक्री कक्ष, किन्नेलाई होईन, बेच्नेलाई सम्मान गरौं लगायतका प्लेकार्ड बजारका विभिन्न स्थानमा विधार्थीको हातमा त, कही डालीहरुमा राखिएका देखिन्थे । यो सवै दृश्य दिक्तेलको हाँटडाँडामा लाग्ने शनिबारे हटियाको थियो ।

स्थानीय सरकारपछि वडा शिक्षा समिती निर्माण गरेर शिक्षामा आमूल परिवर्तन गराउन दिनरात लागेका लफ्याङका पाँच विद्धालयका विव्यास पदाधिकारी, शिक्षक, विधार्थीहरुको प्रगतीमा सबै दंग थिए । शैक्षिक क्यालेण्डर अनुसार चल्ने गरेका श्रीमावि वासवोटे, जनचेतना आधारभूत विद्धालय, वालवालिका प्रावि बरडाँडा, सालपीदेवी प्रावि खर्कडाँडा र शारदा प्रावि दोरुमका शिक्षक र विधार्थीहरु कोही बजारमा आफ्नै विधार्थीले उत्पादन गरेका कृषि उपज सामग्री खरिद गर्न आएका थिए त कोही । कृषि उपज सामग्री बेच्न ।

श्रीमावि वासवोटेमा कक्षा १० मा अध्ययनरत उज्ज्वल राई बजारको एक साईडमा आफूले परिश्रम गरी फलाएको झोलाभरी लप्सी राखेर सय रुपैयाँ केजीमा विक्री गर्दै थिए । सोही विद्धालयमा कक्षा ११ मा अध्ययनरत छात्रा उर्मिला श्रेष्ठ बुबासँग मिलेर बनाएको माटोका भाडाहरु गमला, बुछालु, हाँडी, घपनी मटियाको पसल थापेर बसेकी थिईन् । सोही विद्धालयका कक्षा ६ मा अध्ययनरत सुशिला राईले केरा, रमिला दुलालले अमला र  कक्षा १० मा अध्ययनरत छात्रा सिर्जना कट्वालले सुन्तला, कागती, मुला, लौका, घिउ र हाडजोडा विक्री गरिरहेकी थिईन् । किन्ने ग्राहक उतिकै हर्षित देखिन्थे । सधै रसायनिक पदार्थ मिसिएको खाद्यन्न खादै आएका बजारवासीहरुले अर्गानिक कृषिजन्य वस्तुहरु किन्न पाउदा खुलेरै प्रशंसा गरे । 

यस्तै,  जनचेतना आधारभूत विद्धालयका शिक्षक जीबन वास्तोला भुई स्याउ, भोक्से, दही, तरुल, कागती विक्री गरिरहेका थिए । किन्ने ग्राहक त्यतिनै आईरहेका थिए । उनीहरुजस्तै सयौको उपस्थितीमा विधार्थीहरुले कृषि उपज सामग्री बजारमा बसेर विक्री गरिरहेका थिए । शैक्षिक क्यालेण्डर अनुसार पठनपाठन र अतिरिक्त क्रियाकलाप गर्दै आएका ति पाँच विद्धालयका कक्षा ४ देखी माथिका विधार्थीहरुले गएको भदौ १ गते आ–आफ्नै घरमा करेसावारी निर्माणगरी सिजन अनुसार विभिन्न फलफुल, तरकारी खेती उत्पादनगरी बजारमा आएका विधार्थीले उत्पादन गर्न मात्रै सिकेनन्, उत्पादनपछि कहाँ लगेर विक्री गर्ने भन्ने शिक्षा पनि सिके । पाँच विद्धालयका झण्डै सय जना बढी विधार्थीले अर्गानिक ६० किसिमका कृषिजन्य बस्तुहरु विक्रीका लागि बजारमा ल्याएका थिए ।

विधार्थीलाई कसरी बिक्री वितरण गर्ने र शिक्षा सुधारका लागि विधार्थीलाई बजारमै ल्याएर शिक्षा दिने कोशिष गरिएको श्रीमावि वासवोटेका विव्यास अध्यक्ष राजेन्द्र राईले बताए । नेपालमा हाल दिइरहेको शिक्षा दश प्रतिशत मात्रै जीबन उपयोगी भएको र यस्तो शिक्षाले विधार्थीलाई बाँच्न सिकाउने भएकाले वडाभीत्रका विद्धालयमा शैक्षिक क्यालेण्डर लागू गरी शिक्षालाई व्यवसायिक बनाउन खोजिएको वडा शिक्षा समिति संयोजक तथा वडाअध्यक्ष निर्मल राईले बताए । हामीले शिक्षामा आमूल परिवर्तन ल्याउन खोजिरहेका छौ उनले भने,‘ विधार्थीले उत्पादन गरे मात्रै पनि हुन्न । बेच्न लजाउने, किन्न जादा खुशी हुने आद्धत अन्त्य गर्नुुपर्छ । अनि मात्रै हामीले दिन खोजेको शिक्षा जिबनमुखी बन्छ ।’

यस शैक्षिक सत्रबाट शैक्षिक क्यालेण्डर लागू गरी शिक्षामा फड्को मारिरहेका ति विद्धालयहरुको उद्देश्य अर्गानिक खेतीबाली उत्पादनलाई प्रोत्साहन, रसायनिक वस्तुहरुलाई निरुत्साहन भन्ने छ । उत्पादनमुखी र व्यवसायीमुखी हुनका लागि वार्षिक कार्ययोजना तयार गरी अगाडी बढीरहेको विद्धालयले ब्यावहारिक शिक्षा दिने कसरत गरिरहेका छन् । विधार्थीहरुले उत्पादन गरेको कृषि उपज सामग्री दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दिपनारायण रिजाल, पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले किनेका थिए । पाँच दिनका लागि खोटाङ आएका डा. भट्टराईले चुक, तरकारी लगायत किनेका हुन् । खाल्लेको नाहिमा स्रोत केन्द्रमा बन्दै गरेको बोटानिकल गार्डेनको अनुगमनपछि हाँटडाँडामा आएका डा.भट्टराईले कार्यक्रमलाई सम्बोधन गर्दैै लोकतन्त्र, गणतन्त्रलाई टेकेर छोटो समयमा देश बिकासमा लाग्नुपर्ने बताए । 


माथिको तश्वीरमा: आफैले उत्पादन गरेको कृषि उपज सामग्री विक्री गर्नका लागि वसेका विधार्थी । तस्विर: चिसाङ शेर्पा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!