मेवाखोला हाइड्रोपावर सञ्चालनः खोटाङ लोडसेडिङ मुक्त

Posted on: 13 Jan, 2017


पुस २९, खोटाङ । जिल्लाबाट उत्पादन गरिएको एक मेगावाट क्षमताको मेवाखोला हाइड्रोपावर आज उद्घाटन गरिएको छ । 

दिक्तेल नगरपालिका–१० लफ्याङस्थित मेवाखोलाबाट जलविद्युत् उत्पादन गरिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जलविद्युत्को उद्घाटन गर्दै उहाँले चाँडोभन्दा चाँडो चुनाव नगरिएमा संविधान कार्यान्वयन नहुने जिकिर गर्नुभयो । 

स्थानीय जनप्रतिनिधि नहुँदा गाउँ तथा नगरमा बर्सेनि विकासका लागि पठाइएको अरबौँ रकम दुरुपयोग हुने गरेको बताउँदै उहाँले अब चाँडोभन्दा चाँडो स्थानीय तहको चुनाव हुनुपर्छ भन्नुभयो । 

समुदाय, सानिमा बैंक र बैंक अफ काठमाडौँबाट व्यहोरिएको करिब रु २२ करोडको लागतमा हाइड्रोपावर सञ्चालनमा ल्याइएको साप्सु–कालिका हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक अर्जुन राईले बताउनुभयो । 

विद्युत्भार कटौतीको मार खेपिरहेका खोटाङवासी मेवाखोला हाइड्रोपावर सञ्चालन भएपछि हर्षित बनेका छन् । जिल्लामा २.५ मेगावाट विद्युत् खपत भइरहेकामा मेवा खोलाबाट उत्पादित एक मेगावाट विद्युत् थप भएपछि विद्यत्भार कटौती नहुने बताइएको छ । 

जिल्लालाई विद्युत्भार कटौतीमुक्त बनाउने लक्ष्यका साथ साप्सु–कालिका हाइड्रोपावर कम्पनी प्रालि काठमाडौँको प्रवद्र्धनमा विसं २०७१ देखि हाइड्रोपावरको काम सुरु गरिएको थियो । 

विसं २०७२ असोजमा बत्ती बाल्ने भनिएको हाइड्रोपावरको काम लगातार दुई पटक आएको बाढी, भूकम्प र भारतीय नाकाबन्दीका कारण वर्ष दिनपछि सञ्चालनमा ल्याउन सफल भएको आयोजना प्रमुख ललितकुमार राईले बताउनुभयो । गत मङ्सिर १५ गतेदेपखि परीक्षण प्रसारण गरिएको हाइड्रोपावर आज औपचारिक उद्घाटन गरिएको हो । 

मेवाखोलाबाट उत्पादित विद्युत् बुइपामा रहेको केन्द्रीय विद्युत् प्रसारण लाइनको सबस्टेसनमा जोेडेर वितरण गर्ने व्यवस्था मिलाइएको छ । जिल्लामा अहिलेसम्मकै सबैभन्दा बढी क्षमताको मेवाखोला हाइड्रोपावर सार्वजनिक, निजी साझेदारी ढाँचामा सञ्चालन गरिएको हो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!