खोटाङको जयरामघाट पुलको ८५ प्रतिशत काम पूरा

Posted on: 18 Jan, 2017

माघ ५, खोटाङ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोसी नदीमा निर्माणाधीन पुलको ८५ प्रतिशत काम पूरा भएको ठेकेदार कम्पनीले जनाएको छ । 

दुई वर्षभित्र पूरा गर्ने शर्तमा विसं २०६६ भदौमा सम्झौता गरिएको जयराम पुलको अहिलेसम्म ८५ प्रतिशत काम पूरा भएको जनाइएको छ । 

ठेकेदार कम्पनीले आगामी तीन महिनाभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको पुलका लागि क्याट–वे (मेन लट्ठा टाँग्न आवश्यक) लट्ठा राख्न सुरु गरिएको कालिका कन्स्ट्रक्सनका साइड इन्जिनियर सीताराम कार्कीले बताउनुभयो । “पुलको मेन लट्ठा राख्न झोलुङ्गे पुलको जस्तै क्याट–वे बनाउनुपर्ने हुन्छ ।” उहाँले भन्नुभयो, “अहिले त्यही क्याट–वेको प्लेटफर्म बनाउन लट्ठा राख्ने काम भइरहेको छ ।” 

क्याट–वेको काम पूरा भएपछि दुई महिनाभित्र मुख्य लट्ठा राख्ने काम पूरा गर्ने लक्ष्य राखिएको इन्जिनियर कार्कीले बताउनुभयो । क्याट–वेका लागि आवश्यक आठवटामध्ये तीनवटा लट्ठा राख्ने काम सकिएको जनाइएको छ । 

लट्ठासँगै सिभिलका काम पनि चाँडै पूरा गरिने ठेकेदार कम्पनीले जनाएको छ । जयराम पुल निर्माणका लागि विक्रम पाण्डेको हुलास इन्जिनियरिङ र दिवाकर गोल्छाको कालिका कन्स्ट्रक्सनले जिम्मा लिएको हो । 

जयरामघाटको पुल निर्माणमा भइरहेको ढिलाइप्रति जिल्लावासी आक्रोशित बनेका छन् । राजधानी काठमाडौँ तथा तराईका विभिन्न जिल्ला जोड्ने मुख्य नाका जयरामघाटमा अहिले अस्थायी बेलिब्रिज जडान गरिएको छ । 

हिउँदभर सञ्चालन हुने बेलिब्रिज जडान गर्दा वार्षिक रु ६० लाख बढी राज्यकोषको रकम खर्च हुने गरेको छ । बेलिब्रिज झिकेपछि खोटाङ जिल्ला छ महिना राजधानी तथा तराईका जिल्लाबाट यातायातबाट बिच्छेद हुने गरेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!