खोटाङमा देउसी खेलेको रकमले दलित बस्तीमा वाइफाई विस्तार

Posted on: 08 Feb, 2018

चिसाङ शेर्पा/माघ २५ खोटाङ । देउसी खेलेको पैसाले खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका दलितबस्तीमा वाइफाई बिस्तार गरिएको छ ।

दलितबस्तीलाई सञ्चारका माध्यमबाट संसारभर जोड्नका लागि गएको तिहारमा देउसी खेलेर जम्मा भएको २५ हजार रकमको खर्चमा दलितबस्तीमा वाइफाई सेवा बिस्तार गरिएको हो । स्थानीय अजम्बरी टोल विकास समितिको पहलमा दलित बस्तीमा १ हजार २४ केविपिएस क्षमताको वाइफाई बिस्तार गरिएको छ ।

इन्टरनेटका माध्यमबाट दलितबस्तीमा सञ्चारको पहुँच वृद्धिका लागि देउसी खेलेर जम्मा भएको रकम वाइफाई बिस्तारमा खर्च गरिएको स्थानीय नगर कार्यसमितिका सदस्य गंगाबहादुर बिश्वकर्माले बताउँनुभयो ।

इन्टरनेटको माध्यमबाट देशविदेशका समाचार, सूचना, जानकारी लेनदेनका लागि समेत वाइफाई सहयोगी बनेको स्थानीय बताउँछन् । वाइफाई जडानसँगै कतिपयले इन्टरनेटका माध्यमबाट बालबालिकालाई अध्ययन गराउने गरेका छन् । वाइफाईका कारण दलितबस्तीमा सामाजिक सञ्जालका प्रयोगकर्ता समेत बढेका छन् ।

वाइफाईका लागि दलितबस्तीमा वल्र्ड्लिंकको तीन वटा राउटर, रिसिभर, तारलगायत जडान गरिएको छ । वार्षिक १८ हजार शुल्क तिर्नेगरी दलितबस्तीका १२ घर परिवारले वाइफाई सेवा लिएको अजम्बरी टोल विकास समितिले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!