खोटाङको दक्षिणी भेगका लागि छोटो दुरीको सडक तयार

Posted on: 14 Jun, 2018

चिसाङ शेर्पा | जेठ ३१, खोटाङ | जिल्लाको दक्षिणी भेगबाट दिक्तेलसम्म आइपुग्ने छोटो दुरीको मोटरबाटो तयार भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिका जोड्ने सबैभन्दा छोटो दुरी सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न सँगै सडक तयार भएको हो ।

नगरपालिका–४ खाल्ले आहाले हुंदै दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाको सिमाना साप्सुखोला वारीसम्मको ८ किलोमिटर सडकको मंगलबार ट्रयाक खोल्ने काम सम्पन्न भएको साप्सु खोलादेखी मनमाया राई विमानस्थल सडक उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र राईले जानकारी दिनुभयोे ।

गाउँपालिकाको २४ लाख लगानीमा गएको बैशाख ७ गतेदेखी निर्माण थालिएको ड्रेन सहित ५ मिटर चौडाइ भएको सडक सुचारुसँगै अब दिक्तेल खानीडाडाँ आहाले–याम्खा हुदैं याम्खास्थित रातमाटामा रहेको ¥यापको सडकमा जोडिने छ । याम्खा पुछार साप्सुखोला– याम्खा रातमाटासम्म पहिले नै सडक तयारी भइ गाडी गुडिरहेको छ ।  


उक्त नयाँ सडक सुचारु पश्चात दक्षिणी भेगका स्थानियलाइ मनमाया राई खानीडाडाँ विमानस्थल प्रयोग गर्न तथा दिक्तेल, काठमाण्डौ जान आउन अधिक छिटो र सहज हुने अनुमान गरिएको छ । हालका लागि साप्सुखोलामा अस्थाइ पुल बनाइने गाउँपालिकाले बताएको छ ।  

यसअघि स–छितापोखरीको टुवाखोला–दिक्तेल सडक खण्डको साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सिमानामा पर्ने तावाखोलाको अस्थाइ सडक गएको बैशाखमा भलवाढीले बगाइ दिएपछि बिकल्पमा उक्त नयाँ सडक खोलिएको हो । तावाखोलामा पक्की पुल बनाउने शर्तमा साकेला गाउँपालिकाले चासो नदेखाएपछि गाउँपालिकाले दक्षिणी भेगका स्थानियहरुको सुविधाका लागि एकलौटी ठूलो बजेटमा खानीडाडाँ आहाले र याम्खा जोड्ने सडक तयार गरेको हो ।

दिक्तेल सहित अन्यलाई यात्रामा सहज हुने सडक खन्नलाई  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँग सल्लाह गरे पनि आफ्नै ठाउँ संमुद्धी बनाउनमा नगरपालिकाले रकम बिनियोजन नगरेको दिपु्रङ चुइचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताए । नगरपालिकाले आफ्नै जग्गामा सडक खन्दा समेत रकम बिनियोजन गरेन । उहाँले भन्नुभयो, “तर हामीले आफ्ना पालिकावासीको सेवा सुविधाका लागि अरुकै पालिकामा सडक तयार गरेरै छोड्यौ । यो उहाँहरुको लागि चुनौती र नैतिक दबाव हो ।” 

यस बिषयमा तपाइको प्रतिक्रिया...!