दिप्रुङ चुइचुम्मा गाउँपालिका आफ्नै भवनमा

Posted on: 30 Jul, 2018

चिसाङ शेर्पा | साउन १४, खोटाङ | जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आफ्नै भवनबाट दैनिक कामकाज सुरुवात गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ सप्तेश्वर छितापोखरी याङसोलाटारमा भुकम्प प्रतिरोधात्मक सुविधायुक्त भवन निर्माण सम्पन्न गरेर आफ्नो दैनिक कार्यालयगत कामकाज सुरुवात गरेको हो ।

‘गाउँपालिका भवन निर्माण उपभोक्ता समिति’ले निर्माण सम्पन्न गरेको भवनलाई सोमबारबाट विधिवत ढंगबाट संञ्चालनमा ल्याइएको छ । सोमबार बिहान गाउँपालिका प्रमुख भुपेन्द्र राई र उपप्रमुख सपना राईले एकसाथ भवनमा राखिएको नेपालको राष्ट्रिय झण्डा स्थापना र पुजाअर्चना सहित रिवन काटेर भवनको उद्घाटन गर्नुभएको हो । याङसोलाटारका स्थानियवासीले निःशुल्क उपलब्ध गराएको ७ रोपनी ८ आना जग्गामा गाउँपालिकाको ७० लाख लगानीमा निर्माण भएको भवनमा ९ वटा कोठा, १ वटा सभाहल , ४ वटा शौचालय रहेको छ ।

निर्वाचित भए पश्चात जनतासामू खाएको सपथ र कसमलाई पुरा गर्न आफू लगायत सम्पुर्ण जनप्रतिनिधि निश्पक्ष ढंगले लागि परीरहेको दिप्रङ चुइचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताए । भवन निर्माणमा संलग्नलाई धन्यवाद ज्ञापन गर्दै गाउँपालिका प्रमुख राईले संमृद्ध गाउँपालिका बनाउन आफ्ना मातहतका जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

आठ गाउँपालिका मध्ये विकासमा सबैभन्दा अगाडी बढेको गाउँपालिका यसअघि तीन कन्य प्रावि विद्धालयको दुइ कोठे भवनमा कार्यालयगत कामकाज गरिरहेको थियो । जिल्लाको स्थानिय सरकारको हकमा आफ्नै भवनमा सर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिका पहिलो भएको छ । दुइ नगरपालिका आठ गाउँपालिका रहेको खोटाङका अन्य नगरपालिका र गाउँपालिकाको कार्यालय भाडामा बस्दै आइरहेको छ ।


माथिको तश्विरमा: दिप्रुङ चुइचुम्मा गाउँपालिकाको भवन उद्घाटन गर्नुहुदै गाउँपालिका प्रमुख तथा उपप्रमुख । तस्विर: चिसाङ शेर्पा / सास / खोटाङ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!