मध्यपहाडी लोकमार्गमा कालोपत्र गर्ने काम पुनः सञ्चालन

Posted on: 08 Oct, 2018

केदार मगर | असोज २२, खोटाङ | कालोपत्र गर्ने काम थालिएको मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी र दिक्तेल–चखेवा सडकको काम पुनः सञ्चालन गरिएको छ । 

वर्षाका कारण तीन महीनाअघिदेखि रोकिएको दुवै सडक खण्डको कालोपत्रको काम हिउँद लागेसँगै पुनः सञ्चालन गरिएको हो । करीब रु एक अर्ब नौ करोड १९ लाखको लागतमा सम्पन्न हुनुपर्ने दिक्तेल–चखेवा ८८ किलोमिटर सडक समयमा नसक्दा यसको लागत करीब सवा अर्ब पुग्ने भएको छ । यो सडकको चार वटाप्याकेजमा ठेक्का लागेको थियो । एक नम्बर र दुई नम्बरको ०७२ वैशाख २ मा, तीन नम्बरको २०७२ असार १६ मा र चार नम्बर प्याकेजको ०७२ चैत १६ मा दुई वर्षभित्र सक्ने गरी रमण गोल्डेन गुड जेबी कम्पनीले सम्झौता गरेको थियो । यसमध्ये एक नम्बरको गत कात्तिकमा र दुई नम्बर प्याकेजको माघमा अवधि सकिएको छ । 

यद्यपि, सडकको काम भने फराकिलो पार्ने र दायाँबायाँ गाह्रो लगाउनेभन्दा अन्य भएको छैन । चार नम्बरको निर्माण अवधि भने २०७५ चैतमा सकिने निर्माण कम्पनी लोल्डेनगुडका ठेकेदार साङ्गे शेर्पाले बताउनुभयो । तीन नम्बर र चार नम्बर प्याकेजको (दिक्तेल–दारुलाचोकसम्मको १८ किलोमिटर ८८–७०) को काम यो आर्थिक वर्षभित्र सकिने शेर्पाले जानकारी दिनुभयो । 

एक र दुई नम्बरको काम भने ७० प्रतिशत मात्र सकिने शेर्पाको भनाइ छ । 

एक र दुई नम्बरको प्याकेजमा ‘स्ट्रक्चर’को काम सकिने निर्माण कम्पनीले जनाएको छ । बाँझेच्यानडाँडा दिक्तेल सडकका लागि आवश्यक सामग्री अपर्याप्तता र पेटी ठेकेदारले गर्दा काममा ढिलाइ भएको जनाइएको छ । यसमा पनि गुणस्तरहीन काम भएकाले पेटीठेकेदारलाई हटाइएको सडक विभागका साइट इञ्चार्ज इञ्जिनीयर भरत आचार्यले बताउनुभयो । यसबाहेक यो सडकमा पर्ने सडक पुल भने नसकिने अवस्थामा छ । 

यो सडकखण्डमा पर्ने नौ पुलमध्ये दुई सकिएको, दुई वटा फागुनभित्र सकिने र अन्य पुल भने कहिले बन्छ भन्ने यकिन छैन । शेर्पाका अनुसार करीब रु तीन करोडको लागतमा निर्माणाधीन साप्सुखोला पुल र करीब रु चार करोडको लागतमा निर्माणाधीन चाम्दा खोलाको पुल फागुनभित्र सकिने छ । 

कालीखोला र लप्से खोलाको पुल भने निर्माण सम्पन्न भएर सञ्चालनमा छ । अन्य दुई पुलको ठेक्का लागेको र तीनवटा पुलको बोलपत्र नै हुन सकेको छैन। तीन खण्डमा विभाजन गरेर कालोपत्र गर्ने काम थालिएको दिक्तेल–हलेसी सडकको दुई खण्ड अन्तिम चरणमा पुगेको छ । हलेसी–बिजुले र बिजुले–हुरलुङ सडक कालोपत्रे अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ । 

जिल्लाको प्रमुख मार्ग मानिएको दिक्तेल–हलेसी सडक कालोपत्र गर्ने जिम्मा लामा नागार्जुन र लामा नागार्जुन त्रिशूलीले लिएको छ । जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल हलेसीदेखि बिजुलेसम्मको १२ किलोमिटर सूर्यदेवी कन्काई तथा बिजुलेदेखि दिक्तेलसम्मको २४ किलोमिटर कालोपत्रे गर्ने जिम्मा नागार्जुन र लामा नागार्जुन त्रिशूलीले लिएको छ । 

एशियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा तीन वर्षभित्र कालोपत्र सम्पन्न गर्ने गरी काम थालिएको दिक्तेल हलेसी सडक असार मसान्तभित्र सम्पन्न गर्ने ठेकेदार कम्पनीले जनाएको छ । करीब ७५ करोड रुपैयाको लागतमा साढे पाँच मिटर चौडाइमा कालोपत्र गरिने हलेसी–दिक्तेल सडक आयोजनाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!