पदम थुलुङको ‘मायाँ छ रुमालैमा’ सार्वजनिक (भिडियोसहित)

Posted on: 16 Jan, 2018

खोटाङका युवा गायक तथा संगीतकार पदम थुलुङको लोक जुहारी ‘मायाँ छ रुमालैमा’ सार्वजनिक भएको छ । 

‘माया छ रुमालैमा’ लाई माघे संक्रान्तीको अवशर पारेर सोमबार यूटुवमार्फत सार्वजनिक गरिएको हो । हाइलाईट्स म्यूजिकमार्फत बजारमा आएको लोपोन्मुख बनेको लोक भाकामा आधारित लोक जुहारी मायाँ छ रुमालैमाको भ्यूअर एकैदिनमा ११ सय बढी पुगेकोको गायक तथा संगीतकार थुलुङले बताउनुभयो । 


 रावाबेशी गाउँपालिका ३ लामिडाडाँका स्थानिय बासिन्दा गायक थुलुङ र गायिका सरला राईको स्वरमा सजिएको जुहारी विशेषगरी बुढापाकाले मात्र गाउने र बुझ्ने भाकामा आधारित ६ मिनेट लामो लोकजुहारीमा पुर्वका किरात समुदायमा गाइने लोपोन्मुख भाकालाई समेटेर तयार पारिएको हो । लोकजुहारीमा सितोरियो करातेकी रेफ्री समेत रहेकी मोडल शेसुका राई, पवन राई, निर्मला पुलामी, वशन्त राई, दिनेश राई, रेनुका राई लगायतको अभिनय देख्न सकिन्छ ।  

गणेशकुमार राईको शव्द र अनिल थुलुङको नृत्य निर्देशन रहेको लोकजुहारीको भिडियोको निर्देशन युवराज राईले गरेका हुन् । लोपोन्मुख बनेको लोक भाकामा आधारित लोक जुहारीको छायांकन असोज तेश्रो साता खोटाङकै लामीडाँडा गाउँपालिकाको चिउरीबासमा गरिएको थियो । वशन्त राई र दिनेश राईले निर्माण गरेको गीतको भिडियोमा विहेकाक्रममा हुने विभिन्न रितलाई सांगीतिकरुपमा चित्रण गरिएको छ । बुढापाको अन्त्यासँगै लोपोन्मुख बनिसकेको सो लोकभाका विशेषगरी गाउँघरमा एकादसी लगायतका मेला हाटबजार तथा विहेबारी, छेवर लगायतका शुभकार्यमा पाहुनासँग छुट्टिने बेलामा गाउने गरिन्छ । 

गाउँघरमा कुनै–कुनै ठाउँमा मात्र गाइने भएकाले भाकालाई सुहाउँदो दृश्य गाउँमै कैंद गरिएको गायक तथा संगीतकार थुलुङले बताउनुभयो । ‘अहिलेका युवा पुस्ता जानकार छैनन्, यो लोपोन्मुख बनिसकेको छ,’ ईलाहावादबाट संगीतमा बिम्यूज थुलुङले भन्नुभयो,‘यो भाका बुढापाकाले मात्र गाउने गरेको छ, गाउँघरमा सदियौंदेखि बसोबास गर्ने बाजेबराजुले गाएको गीत संरक्षणका लागि पनि भिडियो बनाएका हौँ ।’ 

२०६८ सालदेखि व्यवसायीक संगीतमा लागेका थुलुङका दर्जनौं गीत बजारमा आइसकेका छन् । प्रस्तुति: चिसाङ शेर्पा, खोटाङ

यस बिषयमा तपाइको प्रतिक्रिया...!