बिरामी छु भनेर तनाव लिन नहुने रहेछ : कोरोना विजेता जनप्रतिनिधि

Posted on: 08 Jun, 2021

जेठ २५, खोटाङ (रासस)। गत वैशाखयता एक हजार १६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको खोटाङमा ३८२ ले कोरोना जितेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५३, हलेसी तुवाचुङ नगरपालिकाका ५३, रावाबेँसी गाउँपालिकाका १७, केपिलासगढी गाउँपालिकाका छ, ऐँसेलुखर्क गाउँपालिकाका ४१, जन्तेढुङ्गा गाउँपालिकाका ३१, साकेला गाउँपालिकाका ५४ तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिकाका र बराहपोखरी गाउँपालिकाका नौ/नौ जनाले सङ्क्रमण जितेका स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो । 

सात सय ७७ सक्रिय सङ्क्रमित रहेको जिल्लामा वैशाखयता पाँच जनाको मृत्यु भइसकेको छ । हाल दिक्तेल रुपाकोट मझुवागढीमा २६८, हलेसी तुवाचुङमा ११२, रावाबेँसीमा ६२, केपिलासगढीमा ४२, ऐँसेलुखर्कमा ६४, जन्तेढुङ्गामा २५, खोटेहाङमा ४९, साकेलामा ६०, दिप्रुङ चुइचुम्मामा ८० र बराहपोखरीमा १५ जना सक्रिय सङ्क्रमित छन् । जिल्लामा हालसम्म तीन हजार २७८ जनाको एन्टिजेन र एक हजार ५१३ जनाको पिसिआर परीक्षण गर्दा एक हजार १६४ जनालाई सङ्क्रमण पुष्टि भएको हो ।

जिल्लाका दशवटै स्थानीय तहमा हाल एन्टिजेन र पिसिआर परीक्षणको दायरा फराकिलो पारिएको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताउनुभयो । हालसम्म निषेधाज्ञा लागू नगरिएको खोटाङमा २४ स्वास्थ्यकर्मी, १० सुरक्षाकर्मी, छ जनप्रतिनिधि र दुई पत्रकार सङ्क्रमित भएका छन् । सङ्क्रमित भएका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारमध्ये अधिकांश सङ्क्रमणमुक्त भइसकेका छन् । सङ्क्रमितमध्ये २४ जना जिल्लाबाहिर सिफारिस भएका छन् भने ३४ जनाको संस्थागत आइसोलेशनमा उपचार भइरहेको छ ।

पिसिआर परीक्षणका क्रममा यही जेठ ६ गते सङ्क्रमण पुष्टि भएका रावाबेँसी गाउँपालिका प्रमुख लीलानाथ निरौला र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवीस्थानका वडाध्यक्ष चइन्द्र राई भर्खरै सङ्क्रमणमुक्त हुनुभएको छ । सङ्क्रमण पुष्टि भएपछि होमआइसोलेशनमा बस्नुभएका गाउँपालिका प्रमुख निरौलाको जेठ १८ गते गरिएको एन्टिजेन परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो । 

गाउँपालिका प्रमुख निरौलाको अनुभवमा सङ्क्रमण पुष्टि भएपछि भोक लाग्न छाड्नु, खान मन नलाग्ने, खाएको खानाको स्वाद थाहा नहुने, बान्ता हुन खोज्ने, घाँटी दुख्ने, खोकी लाग्नेजस्ता समस्या देखापरेको थियो । थोरै चिसो पानी मुखमा पर्यो भने पनि टन्सिल हुन खोज्ने शारीरिक समस्या निम्तिने गरेको अनुभव उहाँले सुनाउनुभयो ।

कोभिड–१९ को सङ्क्रमणबाट मुक्त हुन के–के विधि अपनाउनुभयो त ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “नियमित तातोपानी पिउनुपर्ने रहेछ । धेरै झोलिलो खानेकुरा खाइरहनुपर्छ । मुख कुल्ला गर्दा पनि तातोपानी प्रयोग गर्नुपर्छ ।” उहाँका अनुसार बिरामी छु भनेर तनाव लिन नहुने रहेछ । उहाँले भन्नुभयो, “दिनमा पाँच÷छ लिटर तातोपानी पिएँ । भोक लाग्न थालेपछि मात्र रोगले छाडेको अनुभूति हुँदोरहेछ ।”

सङ्क्रमणमुक्त बने पनि रोगले शरीर शिथिल बनाएको छ । श्वास बढेजस्तो हुने समस्या देखिएकाले खानपानमा अझै पनि ख्याल गर्नुपर्ने अवस्था रहेको गाउँपालिका प्रमुख निरौलाले बताउनुभयो । आफैँ सङ्क्रमित हुँदा पनि गाउँपालिकाको काम गर्नुपर्ने फोन सम्पर्कले ‘बिरामी छु’ भन्ने अनुभूति नै नभएको उहाँको भनाइ छ ।

यस्तै जनप्रतिनिधिका नाताले हलेसी तुवाचुङ–७ महादेवस्थानका वडाध्यक्ष राई आफ्नो वडावासीलाई सङ्क्रमणबाट ‘बच्ने र बचाउने’ विधिका बारेमा सचेत गराउँदै हिँड्दा सङ्क्रमित हुनुभएको थियो । स्वास्थ्यमा सामान्य कोभिड–१९ सँग मिल्दोजुल्दो समस्या देखिएपछि पिसिआर परीक्षण गर्दा वैशाख २६ गते वडाध्यक्ष राईलाई पनि सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्यकर्मीले सिफारिस गरेको औषधि र घरेलु उपचार विधि अपनाएर वडाध्यक्ष राई दुई हप्तापछि सङ्क्रमणमुक्त बन्नुभएको छ । पिसिआर परीक्षण गर्दा जेठ ११ गते बेलुका नेगेटिभ रिपोर्ट आएको वडाध्यक्ष राईले बताउनुभयो । “कोरोना सङ्क्रमण भएपछि स्वाभाविकरूपमा जो–कोही आत्तिन सक्छन् । मानसिकरूपमा त्रास मान्न सक्छन्”, वडाध्यक्ष राईले भन्नुभयो, “उच्च मनोबलका साथ कोरोनासँग जुध्ने हिम्मत गरेँ । ‘म सङ्क्रमित छु वा बिरामी छु’ भनेर कहिल्यै सोचिनँ ।”

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले घरबाहिर निस्किएर समूहमा मनाइने चाडपर्व स्थगन गर्नुका साथै चाडबाडलाई औपचारिकतामा सीमित गरेर मनाउन आग्रह गरेको छ । यस्तै कोभिड–१९ बाट बच्न र बचाउने अभियानका लागि नेपाल सरकारले दिएको निर्देशन र सिसीएमपी/डिसीसिएमसीले जारी गरेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डलाई कडाइका साथ लागू गरिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङ संयोजक बबि चाम्लिङले बताउनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!