एमाले कार्यकर्ताको आक्रमणबाट काँग्रेस कार्यकर्ता घाइते

Posted on: 08 Jun, 2017

जेठ २५, खोटाङ । चुनावी प्रचारप्रसारका क्रममा नेकपा (एमाले)का कार्यकर्ताको आक्रमणबाट खोटाङमा नेपाली काँग्रेसका एक कार्यकर्ता घाइते भएका छन् ।

दुई पार्टीबीचको विवादपछि बुधबार राति एमाले कार्यकर्ताको आक्रमणबाट हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १७ वर्षीय अर्जुन राउत घाइते भएका हुन् । एमाले कार्यकर्ताको आक्रमणका कारण घाइते भएका राउतको आँखा तथा ढाडमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताउनुभयो ।

घाइते राउतको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि जिल्ला अस्पताल दिक्तेल लैजाने तयारी गरिएको आफन्तले बताएका छन् । 

राउतमाथि आक्रमण गर्ने एमाले कार्यकर्ता हलेसी तुवाचुङ नगरपालिका–७ सल्लेका धनकुमार भुजेललाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको प्रनाउ प्रधानले बताउनुभयो । घटनाको विषयमा थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

यता, आफ्ना कार्यकर्तामाथि निर्घात कुटपिट भएको भन्दै काँग्रेसले आपत्ति जनाएको छ । एमालेले गलत मनासायबाट कुटपिट गरेको भन्दै काँग्रेस हलेसी तुवाचुङ नगरपालिकाले आपत्ति जनाउँदै आज विरोध जुलुस निकालेको छ । 

काँग्रेसले घाइतेको उचित उपचार र कुटपिटमा संलग्नलाई हदैसम्मको कारबाहीको माग गर्दै इप्रका, हलेसीमा एक घन्टा धर्ना दिएको छ । 

हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा स्थानीयवासीको घरमा पार्टीको झन्डा राखेको विषयमा काँग्रेस र एमालेबीच विवाद भएको थियो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!