दुबै हात नभएकी खोटाङकि सम्झना खुट्टाले परीक्षा दिँदै

Posted on: 18 Mar, 2017

चैत ५, खोटाङ । दुबै हात नभएकी खोटेहाङ गाउँपालिका– २ की सम्झना राई खुट्टाले लेखेर माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेकी छिन् । भगवती दिनानाथ मावि खोटाङबजारमा कक्षा–१० सम्म अध्ययन गरेकी सम्झनाले सिम्पानी मावि केन्द्रबाट परीक्षा दिइरहेकी छिन् । 

शारीरिक रुपमा अशक्त सम्झनाले खुट्टाले लेखेरै भए पनि समयमै सबै प्रश्नको उत्तर लेख्ने गरेको केन्द्राध्यक्ष राजन ढकालले बताउनुभयो । 

१७ वर्षीया सम्झना इन्द्रेणीपोखरीस्थित मावली बसेर भगवती दिनानाथ माविमा अध्ययन गरेकी हुन् । भगवती दिनानाथ माविका प्रधानाध्यापक कुमार पराजुलीका अनुसार उनी विद्यालयको जेहेन्दार र अनुशासित विद्यार्थीमा पर्छिन् । 

परीक्षा केन्द्र नजिकै सिम्पानीबजारमा कोठा भाडा लिएर परीक्षा दिइरहेकी सम्झनालाई सघाउन उनकी आमा सुमित्राले साथ दिइरहनुभएको छ । “आर्थिक अवस्था कमजोर भएकाले मावली बसाएर पढाइयौं ।” आमा सावित्राले भन्नुभयो । 

सम्झनालाई अहिलेसम्म अध्ययनमा लागेको सबै खर्च विद्यालयको तर्फबाट व्यहोरिएको प्रअ पराजुलीले जानकारी दिनुभयो । जन्मजात दुबै हात नभएकी सम्झनालाई अध्ययन तथा सहज जीवनयापनका लागि यसअघि खोटाङ सेवा समाज बेलायतबाट रु चार लाख ६९ हजार ७६० आर्थिक सहयोग प्राप्त भएको थियो । 

समाजले उपलब्ध गराएको रकम उच्च शिक्षा अध्ययनमा खर्च गरिने आमा सुमित्राले बताउनुभयो । गरिब परिवारमा जन्मिएकी सम्झनाले आफू अशक्त भए पनि पढेर समाजको सेवा गर्नमा आफ्नो जीवन बेतित गर्ने बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!