खोटाङमा द्वन्द्वपीडितले पाउने रकम अर्कैले लिए

Posted on: 25 Apr, 2017

बैशाख १२, खोटाङ । जिल्लाका एक द्वन्द्वपीडित परिवारलाई राज्यले उपलब्ध गराएको राहत रकम स्थानीय एक नेताले झुक्याएर आफूले लिएको खुलासा भएको छ । 

माओवादी सशस्त्र द्वन्द्वको समयमा १३ वर्षअघि हत्या गरिएका जन्तेढुङ्गा गाउँपालिका–४ का लालबहादुर तामाङकी श्रीमती जमुना राई (तामाङ)ले राज्यबाट प्राप्त गरेको रु पाँख लाख रकममध्ये रु चार लाख ३० हजार रकम नेकपा (एमाले)का स्थानीय नेता विदुर राईले लिएको खुलासा भएको हो । 

द्वन्द्वका क्रममा २०६० साल चैत २५ गते राति हत्या गरिएका मृतक तामाङ परिवारले जिल्लाका दलहरुबीचको विवादका कारण दश वर्ष ढिला गरी राहत पाएपनि राईले झुक्याएर चलाइदिएको पीडित जमुनाले गुनासो गर्नुभयो । “म अनपढ र गाउँकी एक्ली महिला भएकाले सहयोगका लागि उहाँलाई साथ लिएको थिएँ ।” उहाँले भन्नुभयो, “उहाँले मेरो सोझोपनको फाइदा उठाउँदै पीडामाथि पीडा थपिदिनुभयो ।” 

राहतका लागि राष्ट्रिय वाणिज्य बैंकमा शून्य खातामा खोलिएको खाता नम्बर २६७१४ मा शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत जम्मा भएको रकम छक्याएर बिदुर आफैँले चलाएको जमुनाको गुनासो छ । 

शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट प्राप्त पहिलो किस्ता रकम रु एक लाखमध्ये रु ५० हजार र दोस्रो किस्ता रु दुई लाखमध्ये रु २० हजार मात्र हात परेको पीडित जमुनाले जानकारी दिनुभयो । 

तेस्रो किस्ताबापत प्राप्त रु दुई लाख रकमबाट भने एक पैसा पनि नपाएको जमुनाले सोमबार जिल्ला प्रशासनमा दिएको निवेदनमा उल्लेख गरिएको छ । 

अनपढ र सोझो भएकाले चेकमा ल्याप्चे हाल्न लगाएर छक्याउँदै चलाइदिएकाले फिर्ता पाउनका लागि प्रशासन, शान्ति समिति र मानव अधिकार आयोगलाई गुहार्नु परेको जमुनाले बताउनुभयो । 

सर्वदलीय बैठक राखेर राहत रकम फिर्ता पाउनका लागि निवेदन दिएपछि सोमबार स्थानीय शान्ति समितिको कार्यालयमा बसेको बैठकले आवश्यक अनुसन्धान गर्न र नियमअनुसार कारबाही गर्न प्रशासनलाई आग्रह गर्ने निर्णय गरेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!