खानीडाँडा विमानस्थल आसपासमा वृक्षारोपण गरियो

Posted on: 11 Aug, 2017


साउन २७, खोटाङ । पहिरोको उच्च जोखिममा परेको खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थल आसपासमा वृक्षारोपण गरिएको छ । 

सामुदायिक वन दिवसको अवसर पारेर रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा रहेको खानीडाँडा विमानस्थल आसपासमा विहिबार विभिन्न प्रजातिका बिरुवा लगेर वृक्षारोपण गरिएको हो । 

माटो कटान र भू–क्षय नियन्त्रणका लागि विमानस्थल आसपासमा तेजपात, रिट्ठा, टाँकी, बडहर, सल्ला लगायतका बिरुवा रोपिएको सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष राजेन्द्र राईले जानकारी दिनुभयो । “वर्षाका कारण माटो कटान हुँदा खानीडाँडा विमानस्थल पहिरोको उच्च जोखिममा परेको छ”, उहाँले भन्नुभयो, “पहिरोको उच्च जोखिममा परेको विमानस्थलको माटो कटान नियन्त्रण तथा सुन्दरताका लागि वृक्षारोपण गरिएको हो ।” 

विमानस्थलनजिक रहेको भालासिरुवानी सामुदायिक वनको संरक्षणमा ध्यानाकर्षणका लागि समेत वृक्षारोपण गरिएको महासङ्घले जनाएको छ । लगातार परेको वर्षाका कारण धावनमार्गमाथि बाट बगेको भलपानीले विमानस्थल पहिरोको जोखिममा परेको हो । 

धावनमार्ग मुनिबाट बनाइएको ढल थुनिएपछि धावनमार्ग हुँदै बगेको भलबाढीले विमानस्थलको दक्षिणी भाग भत्किएको छ । विमानस्थलको छेउबाट शुरु भएको पहिरो अहिले कालोपत्र गरिएको धावनमार्गदेखि करिब दुई÷तीन मिटरनजिक पुगिसकेको छ । 

विभिन्न दातृ निकायको आर्थिक सहयोगमा उपभोक्ताले निर्माण गरेको विमानस्थल गुणस्तरहीन रहेको यसअघि नै गुनासो आएको थियो । दुई वर्षअघि मात्र कालोपत्र गरिएको विमानस्थल पहिरोको जोखिममा परेपछि जिल्लावासी चिन्तित बनेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!